प्रेम गीत ३ मा छानिए सबै मुख्य कलाकार


ब्युटी न्युज नेपाल
काठमाडौं, २९ साउन

आगामी कात्तिकबाट छायाँकन सुरु गरिने भनिएको चलचित्र प्रेमगीत ३ को सम्पूर्ण कलाकार चयन पुरा भएको छ । कलाकार चयनसँगै मुख्य कलाकारहरुले ललितपुरको धापाखेलमा एक महिनाका घोडचढी तालिम पनि सम्पन्न गरेका छन् ।

प्रेमगीत ३ का लागि प्रदीप खड्का, शिव श्रेष्ठ, सुनील थापा, क्रिस्टिना गुरुङ, मनिष राउत, पुष्कर कार्की, सन्तोष सेन, प्रेम पुरी र बालकलाकार अनुभव रेग्मी, समृद्धी शाही, कृजन गौतम यस अघि नै चयन भएको थिए ।

फिल्मका बाँकी कलाकार पनि चयन भएका छन् । यस्तै लक्ष्मी बर्देवा, माओत्से गुरुङ्ग, जीवन भट्टराई, जीवन बराल, योगिसा खत्री र शिशिर राणा यो चलचित्रमा सशक्त भूमिकाको लागि चयन गरिएको यसका निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी गराएका छन् ।

यो चलचित्रकी अभिनेत्री क्रिस्टिना गुरुङ २७ सय युवतीबाट विभिन्न चरणको अडिसनबाट उत्कृष्ट २५ हुँदै यो फिल्मका लागि चयन भएकी हुन् । चलचित्रको कलाकारसँगै मुख्य प्राविधिक पनि चयन भईसकेको छ ।

कलाकारको चयनबारे यसका निर्माता निर्देशक सन्तोष सेनले भने,‘प्रेमगीत ३ को कथामा हरेक पात्रहरुको महत्व छ । त्यसैकारण हामीले यो चलचित्रमा कुनै पात्रमा सम्झौता गर्न चाहेनौ । ’

सेनले यी पछिल्ला कलाकारको चयनसँगै प्रेमगीत ३ कोे प्रमुख कलाकार चयन सकिएको बताएका छन् । आगामी कात्तिकबाट छायाँकन थालिने यो चलचित्र आगामी २८ चैतबाट विश्व व्यापी रुपमा प्रदर्शन गरिने निर्देशक सेनले जानकारी गराए ।