ब्युटी न्युज नेपाल
काठमाडौं, १ साउन 

बरिष्ट चलचित्र निर्माता छबिराज ओझाले आफुमाथि हिँसा गरेको भन्दै दाम्पत्य सम्बन्ध बिच्छेदका लागि चार दिन अघि अभिनेत्री शिल्पा पोखरेलले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिन् । त्यसपछि शिल्पा र उनका पति छबिराजले मिडियामा आपसी कुराहरु ल्याउने क्रम जारी छ । कसैले छबी राम्रो शिल्पा नराम्रो भन्दै छबिको पक्ष लिने, कसैले शिल्पा राम्रो छबि नराम्रो भन्दै शिल्पाको पक्ष लिने र कसैले यी दुबै जना खराब हुन भन्ने गरेका छन् । शिल्पा–छबिराज प्रकारणमा अहिले नेपाली चलचित्र उधोग तीन धारमा विभाजन भएको छ ।

यसै क्रममा अभिनेत्री केकी अधिकारीले शिल्पा पोखरेलको रोदनसँग मिल्दो जुल्दो गरी फेसबुकमा स्टाटस लेखेपछि केकीले स्टाटसले चर्चा पाएको छ । स्टाटसमा शिल्पाको नाम त छैन । तर धेरैले यो स्टाटस अभिनेत्रीले केकीले शिल्पाको पक्षमा लेखेको भन्दै अनुमान गरेका छन् । केकीले नारीको पक्षमा स्टाटस लेखेका हुन् । उनले जसको पक्षमा लेखे पनि सो स्टाटस यस्तो छ , –

ऊनी रोइन् ।

मैले जे भोगेकी छु। जे सहेकी छु । मलाई मात्र थाहा छ। यति भन्दै उनी रोइन् । उनी किन रोइन ?
उनी रोइन् किनकि वहाँलाई उनीले अरुसँग बोलेकै मनपर्दैन रे । उनी रोइन् किनकि आज एकैछिन् । अरुसँग बोलेको वहाँले देखि त हाल्नुभो । उनी रोइन् किनकि वहाँ साथ दिने साथी होईन, कमजोरी केलाउने काजी होइबक्सदोरहेछ , दण्ड दिने हुकुम होइबक्सदोरहेछ। उनी रोइन् किनकि बिदेशी विश्वविद्यालयमा पढेर आएका वहाँका साथीहरु बीच उनको बौध्दिक स्तर नपुग्दो रहेछ । उनको नपुगेको बौध्दिक स्तर माथि वहाँले बारम्बार व्यंग्य गर्नुहुँदो रहेछ । उनी रोइन् किनकि उनी मोफसलमा जन्मिएकि हुन् । शहरको ढंग उनले जानिन छिन् । समयमै सिक्न सकिनछिन् । सिक्दा सिक्दै त्रुटिहरु गरिछिन् । उनी रोईन् किनकि तरकारीमा आज नून कम भएछ । उनी रोईन् किनकि उनीसँग भान्सा कोठा छ । मुख धुन पानी छ । आँसु पुछ्न टालो छ ।

उनी रोइन् किनकि आफ्नो देवर, आफ्नो नन्द, आफ्नो आमाजुहरुसँग उनको बोली गुलियो भएन छ । सासुससुरालाई ढोग्न बिर्सिएछिन्। उनी रोइन् किनकि उनी दाईजो कम ल्याउने बुहारी परिछिन् । उनी रोइन् किनकि उनी असल आमा हुनसक्छिन् । भइनन् । उनी रोइन् किनकि उनी असल ठूली आमा हुन् । सानीमा हुन् । आमा होईनन् । बाँझी हुन् । उनी रोइन् किनकि अलग्गै भविष्य उनको पनि हुनसक्थ्यो । उनी रोइन् किनकि उनीसँग पनि शैक्षिक योग्यताका प्रमाणपत्रहरु छन् । गाउन सक्ने गला छ । नाच्न सक्ने कम्मर छ । उनी रोइन् किनकि पलंगमा एउटा छेउ छ । सुँक्क आवाजलाई दबाउन सक्ने सिरानी छ । आफ्नै श्रीमानबाट बलात्कृत भएको अनुभव छ ।

उनी रोइन् आफ्नो प्रेमलाई सम्झिएर । उनी जस्तै कसैको सौभाग्य सम्झिएर। आफ्नो दूर्भाग्य सम्झिएर । गरिब आमाबुवाको सामाजिक प्रतिष्ठा सम्झिएर । उनी रोइन् किनकि आज उनको नानीलाई सानो चोट लाग्यो । त्यहि चोटको बहानामा उनलाई ठूलो चोट लाग्यो। उनी रोइन् किनकि उनलाई थप्पड थाहा छ । लात थाहा छ । मुक्का थाहा छ । काट्दा नदुख्ने, लुछ्दा दुख्ने कपाल थाहा छ । उनी रोइन् किनकि उनी भीडमा पनि एक्लै छिन् । उनी रोइन् किनकि उनीसँग सडकमा मागेर खानुपर्ने दिन आउला भन्ने धम्कीले जरा गाडेको मन पनि त छ । उनी रोइन् किनकि सहनशिलताको बाँध भत्किएको छैन । आँसु अझै बाँकी छ ।

उनी रोइन् किनकि उनले आज न्याय माग्ने हिम्मत गरिन् । उनी रोइन् किनकि न्याय माग्दा, व्यथा बुझ्ने न्यायमूर्ति पाईनन्। उनी रोइन् किनकि थप्पड हान्नु नै अपराध हो तिमीले न्याय पाँउछौ भनेको सुनिनन् । ऊनी रोइन् किनकि उनलाई उल्टै सोधियो के त्यो थप्पडले कानको जाली फुटेकै हो त?

उनी रोइन् किनकि उनीले जे भोगेकि छिन् । जे सहेकी छिन् । उनीलाई मात्र थाहा छ ।

(तपाँई हामी बीच भएका सबै ‘उनी’ हरुलाई घरेलु हिंसा बिरुध्द बोल्ने साहस मिलोस् । साहसी सबैलाई न्याय मिलोस् ।)

केकी अधिकारी
१३.०७.२०१९