शिल्पाजी र मलाई फुटाएर अलग बनाउन प्रयास भईरहेको छ–निर्माता छविराज ओझा

अभिनेत्री शिल्पा पोखरेलले आफुलाई श्रीमान छवीराज ओझाले हिंसा (हातपात) गरेको भन्दै चार दिन अघि महानगरी प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी छिन् । यो प्रकरणले अहिले सञ्चार माध्यममा निकै स्थान पाएको छ । निर्माता छविराज ओझा यो प्रकरणपछि मिडियामा नआएको चर्चाछ । यसै प्रसँगमा व्युटी न्युज नेपालका लागि बुधबार बेलुका डब्बु क्षत्रीले गरेको कुराकानीको मुख्य अँश ः

निर्माताज्यू नमस्कार, श्रीमती शिल्पा पोखरेलमाथि हिंसा गरेको खबर सुनियो त । खासमा कुरा के रहेछ ?

– नमस्कार ः डब्बु सर । मैले पनि त्यही सुने । म बिरुद्ध श्रीमती शिल्पाजीले घरेलु हिंसा भयो भनेर महानगरीय प्रहरी परिसर काठमाडौं, टेकुमा उजुरी हाल्नु भएको रहेछ । अहिले सबै मिडियामा यही खबर हेर्दैछु ।

अनि हातपात भएको चै कहिलेको घटना हो ?
– कहाँको हातपात हुनु र ? खासमा यही असार ८ गते हामी बीच सामान्य भनाभन भएको थियो । त्यही दिन उनी घरबाट निक्लेर बिकास जी (विकाश रौनियार दाई)कोमा गएकी हुन् । अस्ती २४ गते प्रहरी परिसरमा हाजिर हुनुस्, तपाईं बिरुद्ध नायिका शिल्पा पोखरेलको उजुरी परेको छ भन्दा पो म त तीन छक परें ।

अनि तपाईले त शिल्पाजीलाई कुटेर कानको जाली नै फुटाउनु भयो भन्ने समाचार आयो । मुख पनि सुन्निएको छ रे त कुटेर , अस्ती असार २३ गते पनि कुट्नु भो रे भन्ने समाचार पनि आयो ?

–  लौ अचम्मै सुन्नु र पढ्नु परेको छ अहिले मिडियामा । हामीबीच सामान्य भनाभन भए पनि हातपात हुने गरेको छैन । असार ८ गते घरबाट हिड्नु भएकी शिल्पाजी बेला बेलामा विभिन्न कार्यक्रममा देखिनु भयो । नायिका करिश्माजीको पार्टीमा पनि उहाँको मैले फोटो देखें । अन्य पार्टी तथा कार्यक्रममा गएको पनि उहाँको फोटो मैले देखें । यसैबीच उहाँ असार २१ गते बिकास जीसँग हाम्रो घर गौरीघाट आउनु भयो । म र विकाशजी एकछिन गफगाफमा व्यस्त भयौं । उहाँले अस्पतालमा चेकअपको लागि भन्दै आफ्नो केही महत्वपूण कागजहरु घरबाट निकाल्नु भयो र फेरी बिकाशजीसँगै हाम्रो घरबाट हिड्नु भयो । त्यतीेबेला हामीबीच कुराकानी हुन पाएन । त्यसको भोलीपल्टनै उहाँले म बिरुद्ध प्रहरीमा उजुरी दिनु भएछ । त्यो पनि मैले उहाँलाई हिंसा गरेँ भनेर । उहाँसँग राम्ररी कुरा नभएको त कत्ति दिन भईसक्यो । मैले उहाँको कहिले कानको जाली कहिले फुटाएँ, कहिले मुखमा हिर्काएँ ? त्यो मिडियाले नै जान्ने कुरा हो । हामीबीच यस्तो भएको छैन ।

प्रहरीले बेलाउँदा पनि महानगरीय प्रहरी परिसर जानु भएको छैन रे नी । किनी होला ?

–  मेरो बिरुद्ध उजुरी परेपछि मलाई असार २३ गते प्रहरीबाट फोन आयो । त्यसको भोलीपल्टै मँगलबार २४ गते म गएँ । निकैबेर कुरें । अलिक सन्चो थिएन मलाई । शिल्पाजी प्रहरीकोमा आउनु भएन । अनि प्रहरीले नै मलाई अहिले घरमा गएर आराम गर्नु । पछि आउँदा हुन्छ भनेपछि म घर फर्किएको हुँ । हिजोबाट लुज मोसन भएकाले आज जीबनजल खाएर घरमै आराम गरिबसें । दिनभर सुतिरहें । धेरै नै फोन आएपछि अहिले उठेर फोन उठाएको हुँ । अब भोली बिहिबार हामी प्रहरीकोमा भेटेर यो बिषयमा छलफल गर्छौं ।

अनि तपाईहरुले त विवाह भएको कुरा समेत गोप्य राख्नु भएको थियो त ?

– हाम्रो विवाह ३ वर्ष अघि नै भएको तपाईहरु सबैलाई थाहा थियो । केही नजिकाका साथीहरुलाई बोलाएर सुटुक्क विवाह गरिएको थियो । शिल्पाजी र म गौरीघाटकै घरमै बस्दै आएको हो । शिल्पाजी र मेरो विवाह दर्ता ६ महिना अघि भएको हो ।

अनी अहिले किन यस्तो भयो त एक्कासी ?

– मेरो नजरमा शिल्पाजी निकै राम्रो मान्छे हो । हामी दुइबीच त्यस्तो नराम्रो सम्बन्ध छैन । श्रीमान श्रीमतीबीच कहिलेकाही सामान्य डिसकस हुनु ठुलो कुरा हैन । त्यो त जसको पनि हुन्छ । केही मान्छेहरुबाट उहाँ र मलाई फुटाएर अलग बनाउन प्रयास भईरहेको छ । शिल्पाजी राम्रो मान्छे भएकाले हामीहरुलाई फुटाउन चाहनेहरुको कुरा सुन्नु हुन्न होला भन्ने मलाई लागेको छ । खासमा के के भएको रहेछ भन्नेबारे प्रहरीमा भोली म राम्ररी बुझ्छु । अरुले हामीलाई फुटाउन सक्दो कोशिस गरेको यो बेला हामीले आफ्नो दाम्पत्य सम्बन्ध राम्रो बनाउनु पर्छ । यसको लागि मेरो प्रयास जारी रहने छ ।