ग्रामीण प्रेमकथा बोकेको फिल्म ‘काजी’ प्रदर्शनमा


ब्युटी न्युज नेपाल
काठमाडौँ, ८ जेठ

नेपाली चलचित्र ‘काजी’ आज शुक्रबारबाट देशभर चलचित्र घरमा प्रदर्शनमा आएको छ । निर्देशक लक्ष्मण रिजालको निर्देशनमा बनेको फिल्मले प्रदर्शनको पहिलो दिनमै करिब डेढ सय शो पाएको निर्माण टिमले जनाएको छ ।
प्राप्त शो सङ्ख्याका आधारमा फिल्मले बक्स अफिसमा उत्साहजनक व्यापार गर्ने अपेक्षा गरिएको छ । प्रदर्शनअघि सार्वजनिक गरिएका गीत, ट्रेलर र प्रचार सामग्रीले दर्शकमाझ उत्साह सिर्जना गरेको थियो। ‘काजी’ ले केन्द्रीय चलचित्र जाँचपास समिति ‘सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटी’ बाट ‘युनिभर्सल सर्टिफिकेट’ पाएको छ ।

ग्रामीण परिवेशमा आधारित ‘काजी’ क्लासिक प्रेमकथामा आधारित छ । फिल्मको कथा हालसालैको नभएर केही दशकअघिको सामाजिक परिवेश र जीवनशैलीलाई पर्दामा उतारिएको निर्देशक रिजालले बताएका छन्। फिल्मले प्रेम, सम्बन्ध, भावना र समाजका विभिन्न आयामलाई प्रस्तुत गर्ने प्रयास गरेको उनको दाबी छ ।

फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा छन् । उनीहरूको जोडीलाई फिल्मको प्रमुख आकर्षणका रूपमा हेरिएको छ । फिल्ममा काजी र कजिनीबीचको सम्बन्ध, उनीहरूका भावना तथा सामाजिक परिवेशलाई केन्द्रमा राखेर कथा अघि बढाइएको छ ।

विपीन र केकीसहित फिल्ममा गरिमा शर्मा, प्रकाश घिमिरे, विशाल पहारी, हेमन्त बुढाथोकी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धि सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दिक्षिता अर्याललगायत कलाकारले अभिनय गरेका छन्।

लेखक प्रदीप भारद्वाजको कथा रहेको फिल्मलाई रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो । रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मका निर्मातामा नेहान रिजाल र विकासराज जोशी रहेका छन् भने असिम काफ्ले कार्यकारी निर्माता हुन् । प्राविधिक पक्षमा पनि फिल्मलाई विशेष ध्यान दिइएको निर्माण पक्षले जनाएको छ ।

फिल्ममा कालीप्रसाद बास्कोटाको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, चिन्तन राजभण्डारीको छायांकन तथा विपिन मल्लको सम्पादन छ । त्यस्तै, सागर अर्यालको साउण्ड डिजाइन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन र बनिश शाहको सुपरभाइजर सम्पादनमा बनेको छ । फिल्मलाई नेपालभर श्रीराम बालाजी फिल्म्सले वितरण गरिरहेको छ ।