ब्युटी न्युज नेपाल
काटमाडौँ, ६ जेठ
नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान विजयी भएका छन् । मंगलवार राती काठमाडौमा सम्पन्न १८ औँ साधारण सभा एवम् निर्वाचनबाट १०९ मत प्राप्त गरी प्रधान अध्यक्षमा विजयी भएका हुन् । निर्वाचनको अन्तिम परिणाम अनुसार कुल १५९ मत खसेकोमा अध्यक्षका अर्का प्रतिद्वन्द्वी जनकदीप पराजुलीले ४६ मत मात्र प्राप्त गरेका थिए ।
निर्देशक समाजका दुई उपाध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेकोमा ९५ मत प्राप्त गरी सुवास गजुरेल र ७१ मत प्राप्त गरी दीपक वली निर्वाचित भए ।
यस्तै समाजको महासचिव पदमा समुन्द्र भट्ट १०६ मतसहित विजयी भएकी छिन् । उनका प्रतिद्धन्दी कमल एक्चै मगरले ४७ मत मात्र पाए । त्यसैगरी, सचिव पदमा राजबहादुर साने ८० मतका साथ निर्वाचित भएका छन् । सचिवका अन्य उम्मेदवारहरू अमर ओलीले ४६ र दिनेश लिङ्देनले २८ मत प्राप्त गरेका थिए ।
संघको सह कोषाध्यक्षमा तीन जनाबिच प्रतिस्पर्धा भएकोमा उत्सव केसी ६६ मतका साथ विजयी भए भने कोषाध्यक्ष पदमा जनक खड्का निर्विरोध निर्वाचित भए ।
यसै गरी नेपाल चलचित्र समाजको केन्द्रिय सदस्य पदका लागि लक्ष्मण सुवेदी, लक्ष्मण सुनार, साकार पन्त, अमर दीप सापकोटा, शिव शर्मा कँडेल र हस्तबहादुर लिम्बू निर्विरोध निर्वाचित भएका छन् । मुख्य सहायक निर्देशकबाट केन्द्रिय सदस्यमा दीप्तप्रकाश अधिकारी र रामकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् ।





