गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा


ब्युटी न्युज नेपाल
काठमाडौँ, ९ बैशाख

विभिन्न विवाद र व्यवसायिक सम्बन्धबारे उठेका प्रश्नपछि गृहमन्त्री सुधन गुरुङले बुधबार आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष राजीनामा बुझाएको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। राजीनामासँगै पछिल्ला केही दिनदेखि सरकारभित्र देखिएको दबाब र राजनीतिक बहस नयाँ मोडमा पुगेको छ।

गुरुङमाथि विवादित व्यवसायीसँग सेयर कारोबार तथा व्यावसायिक साझेदारी रहेको आरोप सार्वजनिक भएपछि विपक्षी दल, नागरिक समूह र सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो। आरोपको स्वतन्त्र छानबिन हुनुपर्ने माग व्यापक रूपमा उठेपछि उनले नैतिक जिम्मेवारीका आधारमा पद त्यागेको बताइएको छ। यद्यपि गुरुङले आफूमाथि लगाइएका आरोपबारे औपचारिक रूपमा दोष स्वीकार गरेका छैनन्।

प्रधानमन्त्री शाह नेतृत्वको सरकारले गठन भएकै दिन गुरुङलाई गृह मन्त्रालयको जिम्मेवारी दिएको थियो। उनी युवापुस्तामाझ चर्चित अनुहारका रूपमा उदाएका थिए भने सुरुवाती कार्यकालमा केही उच्च पदस्थ कर्मचारीमाथि कारबाही प्रक्रिया अघि बढाएर चर्चा कमाएका थिए। तर पछिल्लो समय सम्पत्ति विवरण, सेयर लगानी र व्यावसायिक सम्बन्धबारे सार्वजनिक बहस बढेसँगै उनी आलोचनाको केन्द्रमा परेका थिए।

उच्च राजनीतिक स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भएको छलफलपछि गुरुङले राजीनामा दिने निर्णय गरेका हुन्। सरकारको सुशासन छविमा असर नपरोस् भन्ने निष्कर्षसहित उनलाई पद छाड्न सुझाव दिइएको बताइएको छ।

अब गृह मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा प्रधानमन्त्री शाहले दलभित्र परामर्श थालेका छन्। गुरुङको बहिर्गमनले सरकारभित्र पारदर्शिता, राजनीतिक उत्तरदायित्व र सुशासनका सवाललाई थप चर्चामा ल्याएको विश्लेषण गरिएको छ।