महासचिव रामेश्वर बुर्लाकोटी र सुनिल कटुवाल. उपाध्यक्षमा नायिका पनाह अधिकारी, शिवहरि वैरागी र उद्धव प्रसाद भट्टराई
ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ चैत
नेपाल कलाकार संघको २१औँ साधारण सभा तथा चुनावी अधिवेशन काठमाडौँको नक्साल स्थित लिसारा पार्टी भेन्युमा यही २८ चैतमा हुने भएको छ । निर्वाचनको लागि तीन साता बाँकी हुँदा आ आफ्नो प्यानलको तयारी सहित दुई जना कलाकार अध्यक्षमा मैदानमा उत्रिने भएका छन् ।
वर्तमान अध्यक्ष मोहन निरौलाले उम्मेवारी नदिने र यस अघि नै दुई कार्यकालको अध्यक्ष भइसकेको पूर्व अध्यक्ष रवीन्द्र खड्काले विधानको यस पटक अध्यक्षमा उम्मेदवारी दिन नपाउने भएपछि नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदका लागि अहिले पूर्व उपाध्यक्ष उत्तम केसी नेपाल र वर्तमान महासचिव सविन श्रेष्ठले घोषणा गरेका छन् । उत्तम केसीले एक्लै अध्यक्षको उम्मेदवारी घोषणा गरेर आफ्नो प्यानल बनाइरहेका छन् । जबकि अध्यक्ष अध्यक्षका उम्मेदवार एवम् अभिनेता सविनले आइतबार ८ चैतमा आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गर्दंछन् ।

सविनको समूहले चलचित्र निर्माता राजकुमार राईको संरक्षकत्वमा शनिवार बसेको बैठकले सचिव र सह कोषाध्यक्षबाहेक अरूको उम्मेदवारी तय गरेको छ । कलाकार उत्तम केसी नेपालले पनि आफ्नो प्यानलको तयारी गरेका छन् । अध्यक्षको उम्मेदवार सविन श्रेष्ठले आफ्नो प्यानल तयारी गरेपछि कलाकार केसीले पनि प्यानल खडा गरेका हुन् । प्यानलमा सविन श्रेष्ठ आफैँ अध्यक्षको उम्मेदवार बन्दै छन् । विगत डेढ दशकदेखि नेपाली चलचित्रमा नायकको रूपमा उनी सक्रिय छन् । उनी हालका महासचिव हुन् ।

सविनको प्यानलमा उपाध्यक्षमा नायिका पनाह अधिकारी र कलाकार उद्धव प्रसाद भट्टराईले उम्मेदवारी घोषणा गरेका छन् । ८ वटा चलचित्र र तीन दुई दर्जन टेली चलचित्रकी नायिका पनाह अधिकारी अघिल्लो कार्यकालमा संघको सचिव थिइन् । कलाकार उद्धव प्रसाद भट्टराई कलाकार संघका दुई कार्यकालदेखि कार्यसमिति सदस्य रहँदै आएका छन् ।
सविनको प्यानलबाटै महासचिवमा रामेश्वर वुर्लाकोटीले उम्मेदवारी दिँदै छन् । एक दर्जन चलचित्रमा अभिनय गरेका रामेश्वर संघमा अहिले सचिवको पदमा रहेका छन् । संघमा सचिव भएर काम गरेको अनुभवका कारण महासचिवमा उनी आउन लागेको हुन् ।

यस्तै सविनको प्यानलबाट सचिवमा टुगो लागेको छैन । पवन केसीले सचिवमा चाहना व्यक्त गरे पनि उनलाई सह कोषाध्यक्षमा उठाएर सचिवमा अरूलाई ल्याउनेबारे शनिवार छलफल भयो । सदस्यमा उम्मेदवारी बन्न लागेकी अभिनेत्री पल्पसा डंगोल अथवा अझ लोकप्रिय कलाकारलाई सचिवमा ल्याउनेकी भन्ने छलफल पनि भएको छ । यदि सचिवमा पवन नै उठेको खण्डमा सह कोषाध्यक्षमा रोशन कुमार श्रेष्ठलाई यो प्यानलबाट राखिने भएको छ । रोशन र पवन दुबै जना अहिलेको कार्यसमिति सदस्य हुन् ।
यस्तै सविन श्रेष्ठको प्यानलबाट कोषाध्यक्षमा पवित्रा आचार्य आउँदै छिन् । पवित्रा नेपाल चलचित्र कलाकार संघकी वर्तमान सह कोषाध्यक्ष हुन् । उनीसँग संघको कोषको कार्यवाहक भएर काम गरेको अनुभव रहेको छ । अध्यक्षका उम्मेदवार सविनको प्यानलबाट ११ जना सदस्यले उम्मेदवारी दिने तयारी भए पनि अहिलेसम्म यो प्यानलमा सदस्यको लागि आकांक्षी १४ जना पुगेको छन् ।

अग्रज कलाकार उत्तम केसी नेपालको प्यानलबाट संघका वर्तमान उपाध्यक्ष शिवहरि वैरागीले फेरी उपाध्यक्षमै उम्मेदवारी दिँदै छन् ।

अर्को उपाध्यक्षको लागि अभिनेता शीतल केसीको नाम अगाडि आएको छ । हालका कार्यसमिति सदस्य शीतल अथवा अन्य कलाकार मध्य कसलाई उपाध्यक्षको उम्मेदवार बनाउने भन्ने एक दुई दिनमा टुंगिने भएको छ । उत्तमकै प्यानलबाट महासचिवमा सुनिल कटुवालले उम्मेदवारी दिँदै छन् । सुनिल हालको कोषाध्यक्ष हुन् ।
उत्तमको प्यानलबाट सुरुमा सुनिल महासचिव, पवित्रा आचार्य कोषाध्यक्ष र तेजुला खतिवडा सह कोषाध्यक्ष उठ्ने चर्चा केही समय अघि चलेको थियो । तर पवित्राको ठाउँमा कोषाध्यक्षमा उत्तम र सुनिलले तेजुला खतिवडालाई अघि सारेपछि सविन श्रेष्ठको प्यानलबाट पवित्रा आचार्य कोषाध्यक्षको उम्मेदवार बनेकी हुन् ।

उत्तम केसीकै प्यानलबाट सचिवमा कलाकार गोपाल ढकाल छन्दे उठेका छन् । गोपाल ढकालसँग प्रतिस्पर्धाको लागि सविनको प्यानलमा प्रभावशाली कलाकारलाई सचिवमा उठाउनु पर्ने सुझाव सल्लाहकारहरूले दिएका छन् । गोपाल हालका कार्यसमिति सदस्य हुन् ।
यस्तै उत्तमकै प्यानलबाट सह कोषाध्यक्षमा गीता नेपालले उम्मेदवारी दिँदै छिन् । संघको कार्यसमिति सदस्यका ११ जना चयन गरिनु पर्नेमा सदस्यको उम्मेदवारीका लागि उत्तम केसीको प्यानलबाट पनि १५ जना कलाकारहरूले चाहना देखाएका छन् । ११ जना सदस्य र एक जना उपाध्यक्षको उम्मेदवार टुंग्याएर उत्तम केसीले आफ्नो प्यानल घोषणा गर्ने भएका छन् ।


