गायक प्रकाश सपुत अब कलाकारितामै रम्ने, राजनीतिमा निस्कृय हुने


ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ चैत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रकाश सपुतलाई समानुपाति सांसद बनाउनु भनेर चुनावमा मत बटुल्न प्रयोग गरेको तर पछि उनलाई सांसद नबनाएको टिप्पणी अहिले चलिरहेको छ । यही टिप्पणी बिच गायक तथा अभिनेता प्रकाश सपुतले अब राजनीतिमा निस्कृय हुने र कलामै सक्रिय हुने बताएका छन् । फेसबुकमा शनिबार लामो सन्देश साझा गर्दै उनले अबको आफ्नो यात्राबारे प्रकाश पारेका हुन् ।

हालैको राजनीतिक प्रक्रियामा आफू प्रतिनिधि सभा प्रवेश गर्न नसके पनि आफ्नो मूल उद्देश्य पूरा भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत लामो धारणा सार्वजनिक गर्दै सपुतले अब केही समय राजनीतिक भूमिकाभन्दा टाढै रहँदै सिर्जनात्मक क्षेत्रमा फर्किने बताएका छन्।

सपुतले विश्वप्रसिद्ध कोरियन समूह ‘विटिएस’ले देशका लागि गरेको योगदानलाई उदाहरण दिदैं आफूले पनि पाँच वर्ष देशका लागि दिने मनसाय बनाएर नै राजनीतिमा होमिएको खुलाएका छन्। उनका अनुसार जीवनको कुनै मोडमा कार्यकारी भूमिकामा बसेर काम गर्ने इच्छा पहिलेदेखि नै थियो, र यसपटक त्यसको अवसर देखिएपछि चुनावमा सहभागी बन्न निर्णय गरेका थिए।

तर सांसद बन्नु आफ्नो अन्तिम लक्ष्य नभएको उनको भनाइ छ। उनले निर्वाचनमा होमिनुको तीन प्रमुख उद्देश्य उल्लेख गरे—रास्वपालाई नयाँ राजनीतिक शक्ति बनाउने अभियानमा सहयोग गर्ने, बालेन शाहको नेतृत्वमा स्थिर सरकार निर्माणमा हातेमालो गर्ने, र आफ्नै समुदायसहित उपेक्षित समूहको आवाज निरन्तर उठाइरहने।

सपुत भन्छन्, “समानुपातिक सूचीमा नअटिँदा ‘म छुटे’ भन्ने भावना त आयो, तर म मूल उद्देश्यमा सफल भएको विद्यार्थीझैँ खुसी छु। मैले व्यक्तिगत स्वार्थका लागि भोट मागेको होइन, परिवर्तनको पक्षमा उभिन आग्रह गरेको मात्र हुँ।”

सपुतले आफ्नो बाल्यकालदेखि नै सामाजिक असमानता, जातीय अपहेलना र वर्गीय विभेदले मनोविज्ञानमा प्रभाव पारेको अनुभव पनि खुलाए। उनले आफू कलाकार भए पनि राजनीतिक चेत र समाजप्रतिको चिन्ता गहिरो रूपमा जोडिएको बताए। बालेन शाहसँग भेट हुँदा उनले विगतका राजनीतिक परिवर्तनका मौका नपकडेको पश्चाताप व्यक्त गर्दै नयाँ पुस्ताले खोजेको परिवर्तनसँगै हिड्न चाहेको बताएका थिए।

उनका अनुसार देशका लागि कुनै योगदान पुर्याउन पद आवश्यक नहोला, तर प्रभावकारी काम गर्न भूमिका भने जरुरी हुन्छ। त्यसकै कारण उनी चुनावमा सक्रिय भएका थिए। सांसद हुने सम्भावना देखिएपछि उत्पीडित समुदायका मुद्दा र मौलिक संस्कृतिमाथि नीति निर्माणका तयारीसमेत गरेको उनले बताए।

समानुपातिकमा नपरेपछि रास्वपा सभापति रवि लामिछानेले फोन गरेर उनको योगदान र मुद्दाको प्रशंसा गरेको प्रसंग पनि सपुतले सार्वजनिक गरेका छन्। “मलाई अलमल त भयो,” सपुत भन्छन्, “तर देशको समय ठीक हुँदैछ भने सबैको समय ठीक हुनेछ। बालेनको नेतृत्वमा स्थिर सरकार गठन हुँदैछ र त्यो प्रक्रियाको सानो हिस्सा हुन पाएकोमा गर्व लागेको छ।”

उनले व्यक्तिगत स्वार्थका लागि कुनै पनि राजनीतिक नियुक्ति नलिने पनि प्रस्ट पारे। चुनावी यात्रामा आफूले भोगेको भावनात्मक क्षण सम्झँदै सपुतले भने, “अभियानका क्रममा २०–३० जनासमक्ष हाते माइकमा गीत गाउनु पर्दा भित्रको कलाकार रोएको थियो। तर आजको अवस्थाले त्यो आँसु पुछिदिएको छ।”

अब आफू केबल सिर्जनामा फर्किने बताउँदै उनले निष्कर्ष टेके—“म समाज र राज्यको नजरमा एक समान नागरिक हुन चाहन्छु। राजनीतिक र सामाजिक चेतको भारी राखेर होइन, अब पूर्ण रूपमा ईन्टरटेनरको रूपमा जनतालाई समर्पित हुन चाहन्छु।”