ब्युटी न्युज नेपाल
काठमाडौं, १५ फागुन
फागुन २९ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘लालिमा’ देहव्यापार गर्न बाध्य महिलाहरूको पीडामा आधारित कथा हो। निर्माण पक्षका अनुसार पछिल्लो २० वर्षदेखि यौनकर्मीसँग प्रत्यक्ष रूपमा काम गर्दै आएको अनुभवका आधारमा यो फिल्म तयार गरिएको हो। समाजमा यौनकर्मीप्रति रहेको दृष्टिकोण र उनीहरूको वास्तविक अवस्थाबीचको खाडल पुर्न नै फिल्म निर्माण गरिएको दाबी गरिएको छ।
यसलाई नेसनल सिने ग्रुप नेपालमार्फत वितरण हुँदैछ। फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मका कार्यकारी निर्माता रीना लामा हुन्। फिल्ममा रोश्नी कार्की र उषा रजकसँगै जीवन भट्टराई, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देल मुख्य भूमिकामा देखिनेछन्।
काठमाडौँको हात्तिसारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा चलचित्र ‘लालिमा’का लेखक तथा निर्देशक रोसन मिराजले सुरुमा यौनकर्मीहरूको अवस्थालाई डकुमेन्ट्रीमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको तर परिचय खुल्ने डरका कारण उनीहरू क्यामेरामा आउन नमानेको बताए। उनले भने, “हामी २० वर्षदेखि यौनकर्मीसँग जोडिएर काम गरिरहेका छौं। डकुमेन्ट्री बनाउँदा उहाँहरू आफ्नो पहिचान खुल्ने डरले देखिन चाहनुभएन। तर फिल्म बनाउने प्रस्ताव राख्दा आफ्नो अवस्था, समस्या र पीडाबारे खुलेर भन्न तयार हुनुभयो।”
नायिका उषा रजकले लामो समयदेखि यौनकर्मीसँग काम गरिरहेको टिम भएकै कारण आफू यो परियोजनामा आबद्ध भएको बताइन्। उनका अनुसार कसैको पीडालाई फिल्म बनाउने विषय संवेदनशील भए पनि यो टिमले तीन हजारभन्दा बढी यौनकर्मीसँग काम गरेको अनुभवका कारण उनीहरूको कथा भन्ने नैतिक आधार बनाएको छ।
त्यस्तै, शीर्ष नायिका रोश्नी कार्कीले समाजले यौनकर्मीलाई मानवको दर्जासमेत नदिएको यथार्थ फिल्ममार्फत उजागर गर्न खोजिएको बताइन्। उनले यौनकर्मीहरू यो पेशामा आउनुको कारण अत्यन्त पीडादायी र जटिल रहेको उल्लेख गर्दै उनीहरूको आवाज बन्न आफू ‘लालिमा’मा जोडिएको स्पष्ट पारिन्। निर्माण पक्षले फिल्ममार्फत यौनकर्मीहरूको भोगाइ, सामाजिक बहिष्कार र भित्री संघर्षलाई यथार्थपरक ढंगले प्रस्तुत गर्ने प्रयास गरिएको जनाएको छ ।
तस्बिर : रेखा लामिछाने/ब्युटी न्युज नेपाल



