चौथो बिराट फिल्म एन्ड म्युजिक अवार्ड सम्पन्न


ब्युटी न्युज नेपाल
काठमाडौँ, १५ फागुन

‘विराट फिल्म एन्ड म्युजिक अवार्ड–२०८२’को चौथो संस्करण सम्पन्न भएको छ । विभिन्न ३५ विधामा अवार्ड प्रदान गर्दै बुधवार बेलुका चलचित्र विकास बोर्डमा यो अवार्ड सम्पन्न भएको हो । यो अवार्डमा २०८१ सालमा रिलिज भएका नेपाली चलचित्र तथा गीत सङ्गीतबिच प्रतिस्पर्धा भएको थियो ।

सेलिब्रेटी नेपाल प्रतिष्ठानद्वारा आयोजित समारोहमा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय अनिलकुमार सिन्हा, विशेष अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीलगायतका अतिथिले समारोहमा अवार्ड प्रदान गरे । कार्यक्रममा अग्रज कलाकार तथा निर्देशक सुभाष गजुरेललाई २५ हजार ५५५ रुपैयाँसहित लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरियो । यस्तै कृष्ण भट्टराईलाई ११ हजार १११ रुपैयाँसहित पत्रकारिता पुरस्कार प्रदान गरियो । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटा र अवार्ड संयोजक सुरज पौडेलले अवार्डको उदेश्यबारे प्रकाश पारेका थिए ।

अवार्ड समारोहमा म्युजिक भिडियो तर्फ आधुनिक गीतमा उत्कृष्ट गायकको अवार्ड रुद्र शेखर शर्माले ‘के छ सान्नानी’बाट, जुरी अवार्ड शशी विक्रम थापाले ‘तिम्रै कारण’बाट उत्कृष्ट गायिकाको अवार्ड अन्जु पन्तले ‘थाहै थिएन दिल’बाट र संगीतकारको अवार्ड मनोज चौलागाईंले, गीतकारको अवार्ड प्रतिमा गुरुङले र गीतकार जुरी अवार्ड सरिता सापकोटाले प्राप्त गरे । आधुनिक गीतको भिडियोमा पुरुष मोडलको अवार्ड माधव केसीले, पुरुष मोडल जुरी अवार्ड आर्यन राउतले, पब्लिक च्वाइस अवार्ड ईश्वर वल्लभ उप्रेतीले, महिला मोडलको अवार्ड नेहा गौतमले हासिल गरे ।

प्राविधिक विधातर्फ नै म्युजिक भिडियो निर्देशकको अवार्ड राजेन्द्र बस्नेतले ‘मेरो घरको मुन्तिर’बाट, यही विधामा जुरी अवार्ड विनयराज पौडेलले ‘हेर्दा हेर्दै’बाट, म्युजिक भिडियो छायाकारको अवार्ड मदन काश्यप घिमिरेले ‘अजम्बरी माया’ बाट, उत्कृष्ट मेकअप आर्टिस्टको अवार्ड ‘मेरो घरको मुन्तिर’बाट प्रिया नगरकोटीले प्राप्त गरे ।

पप विधामा उत्कृष्ट गीतकारको अवार्ड अनुप महर्जन ‘अँध्यारो रातमा’बाट, पप भिडियो छायाँकार अवार्ड मिलन थापा ‘शान्त’ले ‘अध्यारो रातमा’बाट प्राप्त गरे । लोकतर्फ उत्कृष्ट गायनको अवार्ड चन्द्र लामाले ‘मुटुमा बसेकी माया’बाट, लोक पप विधामा गायकको अवार्ड दिनेश भारतीले ‘चन्द्रकुमारी’बाट प्राप्त गरे । भोजपुरी विधामा उत्कृष्ट मोडलको अवार्ड सद्दाम हुसेनले ‘कमर धके’बाट, गजलतर्फको अवार्ड तुलाराम लामिछानेले ‘समय खराब छ’बाट र म्युजिक भिडिया कोरियोग्राफी अवार्ड सुरेश पाण्डेले ‘जवानीले पोल्यो’बाट हासिल गरे ।

समारोहमा लक्ष्मण सुवेदीको चलचित्र ‘सतीदेवी’ले उत्कृष्ट चलचित्र सहित चार विधामा अवार्ड जित्यो । उत्कृष्ट चलचित्रको अवार्ड जितेको सतीदेवीबाट, लक्ष्मण सुवेदीले पटकथाको अवार्ड, सृजना अधिकारीले सह अभिनेत्रीको अवार्ड र मंजला बानियाँ÷हर्षिका ओलीले बाल कलाकार इन्करेजेमन्ट अवार्ड हासिल गरे ।

समारोहमा मिलन चाम्सले चलचित्र ‘अञ्जिला’बाट उत्कृष्ट निर्देशकको अवार्ड जित्दा ‘अञ्जिला’बाटै राजेन्द्र मोक्तानले उत्कृष्ट रंग संयोजनको अवार्ड थापे ।

उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र ‘पूर्ण बहादुरको सारंगी’बाट विजय बरालले, उत्कृष्ट अभिनेत्रीको अवार्ड बोक्सीको घरबाट केकी अधिकारीले, उत्कृष्ट सह अभिनेताको अवार्ड फेरी रेशम फिलिलीबाट कामेश्वर चौरसियाले हासिल गरे । यस्तै संगीतकारको अवार्ड ‘पूर्ण बहादुरको सारंगी’को रैया चाँदीको गीतबाट आशिष अविरलले, उत्कृष्ट छायाकारको अवार्ड चलचित्र ‘पिताम्बर’बाट पुरुषोत्तम प्रधानले, र उत्कृष्ट चलचित्र सम्पादकको अवार्ड ‘ज्वाइँ साव’बाट सन्देश शाहले प्राप्त गरे ।

अवार्ड समारोहमा भाषा भाषी चलचित्र तर्फ ‘तलास’ बाट राजकुमार लिङदेन उत्कृष्ट अभिनेता, उत्कृष्ट भाषा भाषी चलचित्र निर्देशकको अवार्ड ‘दुस्प्रयास’बाट दिनेश लिङदेनले प्राप्त गरे । भाषा भाषी गीततर्फ ‘सुंगुरको मासुमा’बाट उत्कृष्ट मोडल बिपना आङबुहाङले पाए । अवार्ड कार्यक्रमको जुरी टिममा निर्देशक तथा सम्पादक रक्षा सिंह राणा,छायाँकार शिव ढकाल, गीतकार प्रमोद ढुंगाना,निर्देशक ऋषि लामिछाने,लेखक तथा निर्देशक अमर दीप सापकोटा र गायक नवीन कुमार पौडेल रहेका थिए ।