रामकृष्ण ढकालको चलचित्र ‘मालती मंगले’ वैशाख २५ मा रिलिज हुने


ब्युटी न्युज नेपाल
काठमाडौं, २ फागुन

चर्चित गायक रामकृष्ण ढकाल ले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘मालती मंगले’को आधिकारिक पोस्टर र प्रदर्शन मिति सार्वजनिक गरिएको छ। निर्माण पक्षका अनुसार चलचित्र आगामी नयाँ वर्षको अवसर पारेर वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।

चलचित्रमा विजय बराल, वर्षा राउत र मेक्सम गौडेल मुख्य भूमिकामा देखिएका छन्। साथै प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङसागर भट्टराई लगायतका कलाकारहरूको अभिनय रहेको छ।

रानी म्युजिक इन्टरनेशनल प्रा.लि. को ब्यानरमा युनी इन्टरटेनमेन्ट को सहकार्यमा निर्माण भएको यस चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुन्। सह–निर्मातामा बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य श्रेष्ठ, पद्मावती गुरुङस्वीकृति बस्नेत रहेका छन्।

चलचित्रका निर्देशक प्रकु पाण्डेय ले यसलाई विशुद्ध नेपाली पारिवारिक प्रेमकथाका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार यो चलचित्र परिवारका सबै उमेर समूहले एकसाथ बसेर हेर्न मिल्ने खालको छ र यसले हाम्रो समाजको बलियो पक्षलाई उजागर गर्ने प्रयास गरेको छ। चलचित्रको कथा निर्देशक पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईं ले तयार पारेका हुन्।

सार्वजनिक पोस्टरमा मुख्य कलाकार विजय बरालवर्षा राउत लाई आत्मीय र प्रेमिल मुद्रामा प्रस्तुत गरिएको छ। विजय वर्षाको काखमा आरामदायी भावमा टाउको राखेको देखिन्छ भने ग्रामीण पहिरनमा सजिएकी वर्षाले उनको टाउकोमा आफ्नो टाउको अड्याउँदै मुस्कुराइरहेकी छिन्। विजय बस्याल ले डिजाइन गरेको पोस्टरको पृष्ठभूमि र पात्रहरूको प्रस्तुतिले ग्रामीण परिवेश र माटोको सुगन्ध बोकेको प्रेमकथाको संकेत गर्छ।

चलचित्रका छायाकार महेश पौडेल हुन् भने सम्पादन रोमी मोजेज को, रङ्ग संयोजन कृष्ण भण्डारी को र ध्वनि मिश्रण डिकेश खड्गी को रहेको छ। चलचित्रको डिजिटल वितरक ओएसआर डिजिटल तथा थिएटर वितरक आरआर फिल्म्स हुन्।