सुनिल थापाको श्रद्धाञ्जाली चलचित्र विकास बोर्डमा, बलिउड कलाकारबाट पनि श्रद्धाञ्जाली


ब्युटी न्युज नेपाल
काठमाडौँ, २५ माघ

नेपाली द्धिग्गज अभिनेता सुनिल थापाको शनिबार बिहान निधन भएको हो । उनको आज आइतबार दिउँसो श्रद्धाञ्जली कार्यक्रमसहित अन्त्यष्टी गरिने भएको छ । आज बिहान ११ः३० देखि दिउँसो १ः३० सम्म चलचित्र विकाश बोर्डमा उनको श्रद्धाञ्जली कार्यक्रम राखिएको छ । चलचित्र विकास बोर्डले एक सूचना जारी गर्दै सबैलाई श्रद्धाञ्जलीमा सहभागी हुन अपिल गरेको छ ।

कलाकार सुनिल थापाको श्रीमती रजनी सुब्बा, छोरा अनमोल र छोरी प्रियसेस मुम्बईमा बस्दै आएका थिए । उनीहरु शनिबार बेलुका मात्र काठमाडौँ आईपुगे । पारिवारिक श्रोतका अनुसार कलाकार थापाको आइतबार बिहान सुरुमा पोष्ट मार्टम गरिने भएको छ । उनको पोष्ट मार्टमपछि बल्ल श्रद्धाञ्जली कार्यक्रम राखिने तय भएको छ ।

बिशिष्ट कलाकार सुनिल थापाको निधन प्रति अहिले नेपाली चलचित्र र बलिउड शोकमा रहेको छ । नेपालमा मात्र हैन, बलिउड कलाकारहरुले पनि दिवंगत कलाकार सुनिल थापा प्रति श्रद्धाञ्जली सहित उनको निधनमा शोक व्यक्त गरेका छन् । सुनिल थापाले आधा दर्जन भन्दा बढी बलिउड चलचित्र र त्यतिकै मात्रामा वेभ सिरिजमा काम गरेका थिए । सोही कारण बलिउड पनि उनको निधन प्रति शोकमा छ ।

बलिउड बिशिष्ट अभिनेता अमिताभ बच्चनले उनको निधनमा गहिरो शोक व्यक्त गरेका छन् । उनले भिडियो सन्देश मार्फत श्रद्धाञ्जली अर्पण गरेका हुन् । उनले परिवारमा पनि समवेदना प्रकट गरेका छन् ।

यस्तै अर्का अभिनेता अक्षय कुमारले पनि एउटा भिडियो सन्देश सार्वजनिक गर्दै दिवंगत अभिनेता सुनिल थापाको निधन प्रति गहिरो समवेदना प्रकट गरेका छन् । उनले परिवार जनमा धर्यधारणको कामना पनि गरेका छन् ।

बलिउड अभिनेत्री प्रियंका चोपडाले फेसबुकमा स्टटस लेख्दै आफुले बुबा गुमाएको उल्लेख गरेकी छिन् । चलचित्र मेरी कममा काम गर्दाको अनुभव र भिडियो समेत शेयर गर्दै प्रियँकाले सुनिल थापाको निधन प्रति गहिरो दुःख व्यक्त गर्दै यस्तो लेखेकी छिन्,‘ ‘तपाईं सधैं मेरो कोच सर नै रहनु हुनेछ।जब मैले मेरो बुवालाई गुमाएको थिएँ, त्यतिबेला तपाईंले मलाई बुबाले झैँ सम्हालेर राख्नुभयो ।तपाईंले थाहा नपाई नै मलाई माया गर्नुभयो र धेरै कठिन दिनहरू पार गर्न मद्दत गर्नुभयो ।
तपाईंको न्यानो स्नेहयुक्त अँगालो र तपाईंको हाँसो सधैं मेरा सम्झनाहरूमा रहनेछन्।धेरै चाँडै हामीबाट तपाईँ जानुभयो, तर कहिल्यै बिर्सिने छैनौँ। म टुटेको समयमा देखाउनु भएको तपाईंको स्नेह र दयालुभावको लागि धन्यवाद ।
तपाईँको आत्मालाई शान्ति मिलोस सुनिल थापा, परिवार र आफन्तजनसँग मेरो समवेदना र प्रार्थना छ ।’