प्रवण र सरिताको चलचित्र ‘द चेन्ज’ले फेरी जित्यो अन्तर्राष्ट्रिय अवार्ड


ब्युटी न्युज नेपाल
काठमाडौँ, १९ माघ

सातौँ संस्करणको नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (एनसिफ) २०२६मा नेपाली लघु चलचित्र ‘द चेन्ज’ (परिवर्तन) पुरस्कृत भएको छ । १६ माघदेखि १८ माघसम्म काठमाडौँमा आयोजना भएको यो चलचित्र महोत्सवमा ‘द चेन्ज’लाई सर्ट फिल्म तर्फ ‘स्पेसल मेनसन अवार्ड’ प्रदान गरिएको छ । यो चलचित्रकी नायिका एवम् गायिका सरिता भारती, नायक प्रवण भुसाल र चलचित्र निर्देशक डब्बु क्षत्रीले महोत्सवमा यो अवार्ड ग्रहण गरे ।

नेपाल संस्कृति तथा चलचित्र केन्द्रद्धारा तीन दिनसम्म काठमाडौँका तीन स्थानमा आयोजित महोत्सवमा ३९ देशका ८५ चलचित्र प्रदर्शन गरिएको थियो । सो प्रदर्शनपछि भुकुटी मण्डपको नेपाल पुलिस क्लबमा आयोजना गरिएको ग्रान्ड फिनाले अवार्ड समारोहमा अन्तर्राष्ट्रिय निर्णायकहरुले द चेन्जलाई यो अवार्ड प्रदान गरेका हुन् ।

महिनावारी हुँदा अझै पनि नेपाली समाजमा महिलाहरूलाई अछुतको व्यवहार गर्ने कुप्रथा रहेको आफूले यसमा कुप्रथाको सिकार भएकी नारीको भूमिका निर्वाह गरेको अभिनेत्री एवम् गायिका सरिताले अवार्ड ग्रहण समारोहमा बताइन् । अभिनेता प्रवणले यसमा यस्ता कुप्रथा विरुद्ध सामाजिक जनचेतना फैल्याउने काम गरेको बताए । यो लघु चलचित्रमा प्रवण र सरितासँगै कमला जोशी, माधवराज खरेल, शर्मिला शर्मा, सुरज अधिकारीसहितको मुख्य भूमिका रहेको छ ।

गत महिना मात्र बंगलादेशको बोगुरा सहरमा सम्पन्न ‘छैटौँ बोगुरा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा द चेन्जलाई स्पेसल मेनसन अवार्ड प्रदान गरिएको थियो । यो महोत्सवमा ‘इन्टरनेशलन सर्ट इन्डोर’ तर्फ द चेन्जलाई अवार्ड प्रदान गरिएको थियो । बंगलादेशमा पनि यो चलचित्रका निर्देशक डब्बु क्षत्री, अभिनेता प्रवण भुसाल र अभिनेत्री सरिता भारतीले अवार्ड ग्रहण गरेका थिए ।

यस्तै दोस्रो संस्करणको ग्रामिण चलचित्र महोत्सवमा द चेन्जले उत्कृष्ट लघु चलचित्रको अवार्ड जितेको थियो । सो महोत्सवमा यो चलचित्रबाट डब्बु क्षत्रीले उत्कृष्ट निर्देशक, प्रवण भुसालले उत्कृष्ट अभिनेता र सरिता भारतीले अभिनेत्री तर्फको जुरी अवार्ड जितेका थिए । यसरी द चेन्जले लगातार एउटा राष्ट्रिय र दुई वटा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा अवार्ड जितिसकेको छ । यो चलचित्र अन्य अन्तर्राष्ट्रिय महोत्सवहरूमा पनि चयन भएको छ ।

यो चलचित्रलाई निर्देशक डब्बु क्षत्रीले नै लेखेका हुन भने जसमा ओम सुनारको पाश्र्व संगीत, रामशरण उप्रेतीको छायांकन, वीरेन्द्र भाट ‘विपिन’को सम्पादन, अर्विसा भुसाल, युविका बुढाथोकी र सरिता भारतीको निर्माण रहेको छ । विलक्षण क्रियसन प्रा.लि.को ब्यानरमा यो लघु चलचित्र निर्माण गरिएको हो ।

तस्बिर ः बद्री थापा, ब्युटी न्युज नेपाल