‘जेरी अन टप’ ट्रेलरमा सगरमाथा आरोहणको प्रेमकथा


ब्युटी न्युज नेपाल
काठमाडौँ, २४ असोज

नेपाली चलचित्र ‘जेरी अन टप’को ट्रेलरले शुक्रबार काठमाडौँमा एक समारोहबिच सार्वजनिक गरिएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा यो चलचित्रका नायक अनमोल केसी भने विरामी भएका कारण उपस्थित हुन सकेनन् ।

जेरी अन टप अभिनेता अनमोलको महत्वकांक्षी चलचित्र हो । यो चलचित्रका लागि उनले केही समय हिमाल आरोहणको प्रशिक्षण समेत लिएका थिए । यसमा अनमालेले सगरमाथा आरोहण गर्दाको घटनालाई चलचित्रको ट्रेलरमा समेटिएको छ । उनको दुई युवती (आँचल र जसिता)सँगको त्रिकोणात्मक प्रेम सम्बन्ध पनि ट्रेलरमा समेटिएको छ ।

चलचित्रको ट्रेलरमा जोडिएको कलाकारहरूको अभिनय, हिमाली दृश्य, निर्देशन कला, छायांकन, व्याकग्राउण्ड स्कोर, सम्पादन लगायतका पक्षले उत्कृष्ट तारिफ भेटेका छन् । सुयोग गुरुङको निर्देशनमा बनेको यो फिल्मको ट्रेलर शाहिल खानले तयार गरेका हुन् ।

यो चलचित्र तिहारको अवसरमा ३१ असोज शुक्रबार रिलिज हुँदैछ । सरोज न्यौपानेको निर्माण र अनन्या फिल्मस् को ब्यानरमा तयार ’जेरी अन टप’मा अनमोलसँगै आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे ’माग्नेबुढा’, सुरक्षा पन्त, उषा खड्गी अभिनयमा छन् । यो चलचित्रलाई काठमाडौँ उपत्यकामा रीच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनिले वितरण गर्दैछन् ।