ब्युटी न्युज नेपाल
काठमाडौँ, ९ साउन
दृश्यमा कोशी प्रदेश : शृङ्खला – १ सार्वजनिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । गीत, संगीत र कलाको माध्यमबाट नेपालको पर्यटन र संस्कृति प्रबद्र्धन गर्ने राष्ट्रिय अभियान ’दृश्यमा नेपाल’ अन्तर्गत यो कार्यक्रम गरिएको हो ।
कार्यक्रममा कोशी प्रदेशका विभिन्न पर्यटकीय र सांस्कृतिक गन्तव्यहरू समेटिएको दृश्यमा कोशी ः शृङ्खला – १ सार्वजनिक गरियो। कोशी प्रदेशका पालिकाहरु अर्जुनधारा (झापा), रामधुनी (सुनसरी), चैनपुर (संखुवासभा), चौदण्डीगढी (उदयपुर) र भोजपुर जिल्लाका थुप्रै स्थानहरूमा छायांकन गरिएका म्युजिक भिडियोहरूका अंशहरू प्रस्तुत गरिए।
कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरियो। विशिष्ट संगीतकर्मी शम्भु राई र संगीतकार बुलु मुकारुङ लाई एभरेष्ट विशिष्ट संगीतकर्मी सम्मान, गीतकार तथा पूर्व एआईजी टेक तामाङलाई एभरेष्ट राष्ट्रिय गीतकार सम्मान, वरिष्ठ सञ्चारकर्मी प्रकाश सुवेदीलाई एभरेष्ट राष्ट्रिय पत्रकारिता सम्मान, पर्यटन अभियन्ता बन्दी ङिमा शेर्पालाई एभरेष्ट राष्ट्रिय पर्यटन÷समाजसेवा सम्मान र संगीतकर्मी राजकुमार बगरलाई एभरेष्ट राष्ट्रिय संगीतकर्मी सम्मान प्रदान गरियो।
कार्यक्रममा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे थिए। विशिष्ट अतिथिको रुपमा प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री सुदन किराँती, कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, प्रदेशसभा सदस्य मीना श्रेष्ठ लगायत अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री पाण्डेले ’दृश्यमा नेपाल’ अभियानलाई व्यक्तिगत र मन्त्रालयको तर्फबाट पूर्ण साथसहयोग रहने प्रतिवद्धता व्यक्त गरे। उनले भने, ’यो सृजनशील अभियानले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा उल्लेखनीय भूमिका खेल्ने विश्वास लिएको छु।’
पूर्वमन्त्री किराँतीले नेपालको प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधता रहेको रैथाने स्वाद र त्यहाँको संस्कार नै पर्यटकको रोजाइमा पर्ने बताउँदै यस्ता विषयलाई प्रविधिको सहयोगमा विश्वमाझ देखाउन सके नेपालको विकासका लागि पर्यटन क्षेत्र दिगो स्रोत हुने बताए।
कोशी प्रदेशका वन तथा वातावरण, पर्यटनमन्त्री सदानन्द मण्डलले कोशी प्रदेशले कोशी प्रदेश भ्रमण वर्ष–२०८२ घोषणा गरेको जानकारी दिँदै प्राकृतिक सौन्दर्यले भरिएका स्थानको भ्रमणका लागि आह्वान गरे। एभरेष्ट ग्यालरीका प्रबन्ध निर्देशक तथा ’दृश्यमा नेपाल’ अभियानका अभियन्ता कलाकार सनम कठायतले पर्यटन र संस्कृति प्रवद्र्धनमा सबै पक्षको हातेमालो आवश्यक रहेको बताउँदै आगामी शृङ्खलाहरूलाई अझ प्रभावकारी बनाउन सबैको साथ सहयोग रहने अपेक्षा व्यक्त गरे।
कार्यक्रममा नेपाल पर्यटन बोर्ड, यशोदा ग्रुप अफ इन्ड्स्ट्रीज (करेन्ट नुडल्स), होटेल रुविज, विराटनगर तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहयोग रहेको थियो।
कार्यक्रममा विशेष अतिथिको रुपमा कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे , कोशी प्रदेश समाजिक विकास मन्त्रालयका सचिव तथा गीतकार हेमराज तामाङ, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, खिजीदेम्वा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा, गोरखापत्र संस्थानका महाप्रबन्धक लाल ब ऐरी, सार्वजनिक यातायात सेवा प्राधिकरणका सिईओ कुवेर नेपाली, ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केली, खप्तड पर्यटन क्षेत्र विकास समितिका सिइओ खेम जोशी, रामारोशन पर्यटन क्षेत्र विकास समिति सिईओ पूर्ण बिक लगायतको सहभागिता रहेको थियो।