जेठ ३ मा काठमाडौँमा बलिउड अभिनेत्री नोरा फतेहीको कन्सर्ट हुँदै


ब्युटी न्युज नेपाल
काठमाडौँ, १८ वैशाख

बलिउड अभिनेत्री नोरा फतेहीले नेपाली दर्शकलाई काठमाडौँमा नचाउने भएकी छिन् । उनको आउँदा ३ जेठमा काठमाडौँमा कन्सर्ट हुँदै छ । बिहीबार काठमाडौँका सुकेधारा स्थित एक होटेलमा आयोजना गरिएको पत्रकार भेटघाटमा आयोजक पक्षले सो बारे जानकारी गरायो ।

शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युुमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ यो च्यारिटी कार्यक्रम आयोजना र सोही कार्यक्रमका लागि अभिनेत्री फतेही नेपाल आउन आउने आयोजक वल्र्डवाइड फिल्मस् नेटवर्क प्रालिका अध्यक्ष देव मगरले बताए ।

उनले कार्यक्रममा भने,‘मनोरञ्जनमार्फत सामाजिक कार्यलाई सहयोग गर्ने उद्देश्यले हामीले यो कार्यक्रम गर्न लागेका हौँ, नेपालमा अभिनेत्री फतेहीको माग देखेर हामीले कार्यक्रमका लागि गरेको अनुरोधमा उहाँ सहमत हुनुभएको हो । उहाँसँगै नेपाली कलाकारले पनि सम्मानित रूपमा स्टेजमा आफूलाई प्रमाणित गर्नुहुनेछ ।’

नोराले आउँदो ३ जेठमा काठमाडौँको बौद्धस्थित हायातको चौरमा ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा आफ्ना चर्चित गीतमा नृत्यहरू प्रस्तुत गर्नेछिन् । नोरा फतेहीले आफु नेपाल आउन र नेपालीलाई भेट्न उत्साहित रहेको सन्देश आयोजकलाई पठाएको पनि कार्यक्रममा जानकारी दिइयो । नोराले एक श्रव्य दृश्य सन्देशमार्फत आफू पहिलो पटक नेपाल आउने र यहाँबाट अहिलेसम्म प्राप्त गरिरहेको मायाका लागि धन्यवाद व्यक्त गर्दै आफ्नो प्रस्तुति दिने बताएकी छिन् ।

‘म काठमाडौँ आउन उत्साहित छु, यो मेरो पहिलो भ्रमण हुनेछ, सामाजिक कार्यका यो कार्यक्रमलाई सफल बनाउन सबैलाई आग्रह गर्दछु’, अभिनेत्री फतेहीले श्रव्यदृश्यमा भनेकी छिन् । इभेन्टको व्यवस्थापन मनु मिडिया प्रालिले गर्नेछ । कार्यक्रमका लागि भारतको मुम्बईबाट अभिनेत्री फतेहीसहित २० बढी नृत्याङ्गना प्रस्तुति दिन नेपाल आउने आयोजकले जनाइएको छ ।

नोरा फेतेही लाईभ इन नेपाल कार्यक्रममा नेपाली कलाकारहरूमा गायक दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इन्द्रकला राई, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई, प्रशेस पाण्डेलगायतले प्रस्तुती दिने आयोजक तथा इभेन्ट म्यानेजर मनिष कार्कीले पत्रकार भेटघाटका क्रममा जानकारी दिए ।

कलाकारका तर्फबाट नृत्याङ्गना तेरिया फौजा मगरले आफूले सम्पूर्ण तयारी गरिसकेको जानकारी दिइन् । उनले कार्यक्रममा भनिन्, ‘अभिनेत्री फतेही अहिले विश्वभर चर्चामा हुनुहुन्छ, उहाँसँग कार्यक्रम गर्न पाउनु हाम्रो लागि राम्रो हो । नेपालमा यसरी कार्यक्रम हुँदा यसले पर्यटन प्रवद्र्धनमा पनि सघाउँछ भन्ने मलाई लागेको छ’, यस्ता कार्यक्रमले नेपालको बारेमा विश्वलाई जानकारी हुने पनि उनले बताइन् । अभिनेत्री फतेहीको ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’ लगायतका गीत भारतसँगै नेपालमा पनि लोकप्रिय छन् ।

यो कार्यक्रमको लागि खल्ती एपमा गएर २, ४, ७ र १६ हजार दरको टिकेट दर्शकले काट्न सक्ने पनि पत्रकार भेटघाटमा जानकारी दिइयो । यस्तै कार्यक्रममा नोरा फतेही र दुर्गेशले दुस्मन हेरेको हेरै गीतमा सँगै स्टेज सेयर गर्ने भएकाले कार्यक्रम अझ आकर्षक हुने मनिष कार्कीले जानकारी दिए । ओसिन सिटौलाले सञ्चालन गर्ने कार्यक्रममा सो दिन ३ बजेदेखि नै कार्यक्रममा सहभागीका लागि गेट खुल्ला गरिने छ ।