सकियो बेल बटम, अक्षय कुमारका नयाँ रेकर्ड


एजेन्सी
मुम्बई

फिल्म यात्राको कैरियरमै दैनिक १६ घन्टासम्म लगातार काम गरेर अहिलेसम्मकै छोटो समयमा बलिउड अभिनेता अक्षय कुमारले लकडाउनकै बीचमा आफ्नो नयाँ फिल्म ‘बेल बटम’को सुटिङ सम्पन्न गरेका छन् । अक्षयले यो फिल्मको छायाँकन एक महिनामै सम्पन्न गरेका छन् । यो फिल्मको लागि सुरुमा दुई महिना देखि ७० दिनको छायाँकन मिति तय गरिएको थियो । तर कोरोना सँक्रमणका कारण लकडाउन जारी रहेपछि उनले डबल सिफ्टमा काम गरेर फिल्मको छायाँकन एक महिनामै सकेका हुन् ।

मुम्बईमा लकडाउन जारी रहेको बेला यो फिल्मको छायाँकन भएको हो । लकडाउन नसकिँदै फिल्मको छायाँकन सम्पन्न भएको हो । अक्षय कुमारका अनुसार अहिलेको अबस्थामा सबैजना परिवारबाट टाढा रहेर क्वारेन्टाईनमा बसी काम गर्नु पर्ने भएकाले दैनिक १६ देखि १८ घन्टासम्म फिल्मको छायाँकन गरिएको हो । आफुले बिगतमा १८ वर्षदेखि दैनिक ८ घन्टा अर्थात एक सिफ्ट मात्र फिल्मको छायाँकन गरेको अक्षयको कथन छ,‘तर मैले डबल सिफ्टमा दैनिक १६ घन्टा काम गर्दा छायाँकन चाँढै सकिने र सबै परिवारसँग निकट हुन पाउने भएपछि यसपटक १६ घन्टा दैनिक काम गरेको हुँ ।’ उनले सञ्चारकर्मीहरुसँग भने । यस अघि आफुले एउटा फिल्मको छायाँकन ४५ दिन देखि ७० दिनसम्म लगाएको पनि उनले बताएका छन् ।

यो फिल्म ४० वर्ष अघिको कथामा आधारित छ । जसमा अभिनेता अक्षयकुमार सन १९८० को दशकको एक जासुस पात्रको रुपमा प्रस्तुत भएका छन् । फिल्म सत्य घटनामा आधारित रहेको बताईएको छ ।

बेल बटममा अक्षय कुमारसँगै हुमा कुरेशी, लारा दत्त र वाणी कपुर लगायतका कलाकारको अभिनय रहेको छ । यो फिल्म सन २०२१ को २ अप्रिलमा रिलिज गर्ने घोषणा गरिएको छ । फिल्मको छायाँकन सकिएसँगै फस्ट लुक्स पनि सार्वजनिक गरिएको छ ।

यो फिल्मसँग जोडिएका सबै कलाकार तथा प्राविधिकहरुलाई यो एक महिनासम्म क्वारेन्टाईनमा बसेका हुन् । फिल्मको छायाँकनको क्रममा कोरोना भाईरसबाट कोही पनि सँक्रमण नहुन भन्दै कलाकार प्राविधिकहरु बाहिरी सम्पर्कबाट टाढा रहे । यसरी आफुहरुले क्वारेन्टाईनमा रहेर एक महिनामै काम सकेको पनि अक्षयकुमारले बताएका छन् ।