प्रेम गीत ३ मा शिब श्रेष्ठ र सुनिल थापा अनुबन्धित


ब्युटी न्युज नेपाल,
काठमाडौं, ६ असार

नायक प्रदीप खड्काको सफल चलचित्र प्रेम गीत र प्रेम गीत २ पछि अब प्रेम गीत ३ को निर्माण सुरु भएको छ । यो फिल्मको अहिले प्रि प्रोडक्सनको काम भईरहेको छ ।

चलचित्र प्रेम गीत ३ मा नायकको रुपमा काम गर्न लागेको अभिनेता राजेश हमालले समयको अभावका कारण खेल्न नसक्ने भएका छन् । हमालले सो फिल्ममा अभिनय गर्न नभ्याउने भएपछि उनको ठाउँमा अर्का अभिनेता शिब श्रेष्ठलाई अनुबन्धित गरिएको छ ।

आगामी कात्तिकबाट प्रेम गीत ३ को छायाँकन सुरु हुँदैछ । तर अभिनेता राजेश हमालले आफु पुषको पहिलो सातासम्म विभिन्न टुरमा व्यस्त हुने बताएका छन् । उनले पुषको दोश्रो साताबाट मात्र समय दिने निर्मातालाई बताएपछि प्रेम गीत ३ का लागि हमाललाई कुर्न नसकिएको यसका निर्माता निर्देशक सन्तोष सेनले प्रस्ट पारे ।

करिब ६० दिन छायाँकन समय छुट्याईएको यो फिल्मका कात्तिकमा काठमाडौंमा छायाँकन गरिने छ । त्यसपछि कात्तिकको अन्तिमबाट मँसिर अन्तिमसम्म तिब्बतको सिमाक्षेत्रसँगै जोडीएको मनाङमा छायाँकन गरिने भएको छ ।
त्यसैले मँसिरको अन्तिमबाट मनाङमा अत्याधिक हिउँ पर्ने भएकाले छायाँकन गर्न गाह्रो हुने हुँदा राजेश हमाललाई कुर्न नसकिएको पनि निर्माता निर्देशक सेनले बताएका छन् । सोही कारण राजेश हमालको ठाउँमा शिब श्रेष्ठलाई अनुबन्धित गरिएको हो । चलचित्र प्रेम गीत ३ मा अभिनेता शिब श्रेष्ठ सँभवत राजाको भूमिकामा हुनेछन् ।

फिल्ममा राजकुमारको भूमिकामा अभिनेता प्रदीप खड्का यस अघि नै अनुबन्धित भईसकेका छन् । प्रदीप खड्काले निर्वाह गर्ने चरित्रको वरीपरी फिल्मको कथा घुम्ने छ । फिल्ममा अर्का राजकुमारको रुपमा नव नायक मनिष राउत अनुबन्धित भईसकेका छन् । उनी ओष्कर कलेज अफ फिल्म स्टडिजबाट अभिनयमा स्नातक हुन् ।

यो फिल्ममा अर्का मुख्य कलाकारको रुपमा सुनिल थापा अर्थात राते काईंला अनुबन्धित भएका छन् । सुनिल थापाको भूमिकाको बारेमा अहिलेसम्म खुलासा गरिएको छैन ।  चलचित्र प्रेम गीत ३ मा गीतको भूमिकामा अभिनय गर्ने नव नायिका चयन अझै भएको छैन । गीतको भूमिकाका लागि अडिसन लिईएका २५ जना युवती मध्य एक युवतीलाई निर्माण पक्षले नायिकाको रुपमा चयन गरिहेको छ । चयन भएकी ती युवतीलाई प्रेम गीत ३ को गेटअपका साथ फोटो सुट गरेर असार १५ सम्ममा मिडियामा सार्वजनिक गरिने निर्देशक सन्तोष सेनले जानकारी गराएका छन् ।

प्रेम गीत ३ मा चयन भएका अन्य कलाकारहरुमा नाट्यकर्मी पुष्कर कार्की, अभिनेता प्रेम पुरी र निर्माता निर्देशक सन्तोष सेन आफैं पनि रहेका छन् । प्रेम गीत ३ लाई सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गर्दैछन् । यो फिल्मलाई आगामी २८ चैतबाट देशव्यापी सिनेमा हलमा रिलिज गरिने भएको छ । फिल्मका अर्का निर्मातामा बिजय चाम्लिङ रहेका छन् ।