कस्मेटिक ब्यबसायी संघको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

ब्युटी न्युज नेपाल
काठमाडौं, १ माघ

‘नेपाल कस्मेटिक व्यबसायिक संघ’को तेस्रो साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । नक्कली कस्मेटिक उत्पादनलाई निरुत्साहित गर्दै गुणस्तरीय कस्मेटिकको बिक्री र प्रयोगमा जोड दिने प्रतिवद्धता सहित सो सभा सम्पन्न भएको हो ।

सो सभा काठमाडौंका बुढानिकण्ठमाथि तारेभिर जँगलमा सम्पन्न गरेको हो । प्राकृतिक गुण भएका कस्मेटिक सामग्रीको विक्री वितरणलाई महत्व दिने आबाज उठाउँदै यो संघले आफ्नो साधारण सभा पनि जंगलमा भएको हो ।

२०६९ सालमा गठन भएको यो संघले उपभोक्तालाई प्रत्यक्ष असर पार्ने कस्मेटिकका नक्कली र गुणस्तरहिन उत्पादनलाई निरुत्साहित गर्दै यस्ता उत्पादनको उत्पादकलाई कानुनी कारवाहीको दायरामा ल्याउन प्रहरीलाई सघाउँदै आएको संघका अध्यक्ष रँजि पौडेलले साधारण सभामा प्रकाश पारे ।

कस्मेटिक व्यबसायिहरुको बर्तमान समस्याबारे उनले साधारण सभामा भने,‘नेपाल सरकारबाट कस्मेटिक व्यवसायीलाई हर्ने दृष्टिकोण फरक हुनु, कस्मेटिक व्यवसायलाई संरक्षणको प्रयास नहुनु, कस्मेटिकसँग सम्बधित कानून नहुनु, भन्सारबाट आवश्यक चेकजाँच नगरी पहिचान विना गुणस्तरहीन बस्तु अन्धाधुन्द भित्रनु हाम्रा समस्या हुनु । यस्तै यस्ता बस्तुको मूल्याँकनको दररेट फरक पारिनु, छिमेकी राष्ट्रबाट आयात गरेर कस्मेटिक सामान विक्री गर्ने जिम्म पाएका सप्लायर्स, सुपर डिलरको मनोपोलीबाट बजार व्यवस्थापन हुनु, होलसेल र रिटेल बीच समन्वय नुहुन पनि थप समस्या हुन् ।’

कतीपयले व्यवसाय दर्ता विना काम गरेको, सक्कली भनेर नक्कली सामान सस्तोमा बेच्दै सक्कली उत्पादक र व्यबसायीलाई प्रभाव पारेको पनि अध्यक्ष पौडेलले बताएका छन् ।

सो कार्यक्रममा देशभरका कस्मेटिक ब्यबसायीहरु सहभागी भएका थिए । कस्मेटिक ब्यबसायीहरुले आफ्ना समस्यालाई साधारण सभाबाट पारित गदै तारेभिर जँगलमा पिकनिक कार्यक्रम पनि आयोजना गरे ।

यी सबै समस्या समाधान गर्न आफुहरुले निरन्तर पहल गर्ने र उपभोक्ताको स्वास्थ्यमा असर नपर्ने प्राकृतिक गुणयुक्त कस्मेटिक सामग्रीको प्रयोगमा प्रोत्साहन गर्ने निर्णय सो साधारण सभाले पारित गरेको छ ।

संघको उदेश्यबारे अध्यक्ष पौडेलले सभामा भने,‘मर्करी युक्त कस्मेटिकले तत्कालै छालामा चमक ल्याउने भए पनि यसले क्यान्सर निम्त्याउने कारण पश्चिममा मुलुकमा कस्मेटिकमा मर्करीको प्रयोग पूर्ण बन्देज गरिएको छ । तर नेपालमा उत्पादन हुने र छिमेकी मुलुकहरुबाट आउने कस्मेटिकमा मर्करीको मात्रा अत्याधिक पाईएकाले त्यस्ता उत्पादनको बिक्री वितरण रोक्न हामीले सक्दो पहल गर्नु पर्छ ।’

 

Comments
Loading...

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More