अर्को हरर फिल्म घर निर्देशनमा अर्पण


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ पुष

यस अघि लभ लभ लभ र चँगा चेट निर्माण गरिसकेकी शर्मिला पाण्डेले नयाँ फिल्म ‘घर’ निर्माण गर्ने भएकी छिन् । यो फिल्ममो काठमाडौंमा एक समारोहबीच निर्माण घोषणा गरिएको छ । यो चलचित्र पूर्णतया ‘हरर जनरा’ आधारित हुने उनले बताएकी छिन् । चलचित्रको छायांकन माघमा सुरु गरिने छ । चलचित्रलाई डीएस डिजिटलको ब्यानरमा निर्माण गर्न लागिएको हो ।

यो चलचित्रलाई अर्पण थापाले निर्देशन गर्दैछन् । निर्देशक थापाले भने–‘यो चलचित्रले दर्शकलाई पूर्ण रुपमा तर्साउनेछ ।’ यस अघि सुन केसरी जस्तो हरर फिल्म गरिसकेका अर्पणको यो दोस्रो हरर फिल्म हुनेछ ।

चलचित्रका लागि २ नायिकाको खोजी भैरहेको पनि थापाले बताए । एउटा घरभित्र हुने घटनालाई चलचित्रले सस्पेन्स पारामा प्रस्तुत गर्नेछ । अर्पण थापाले नै चलचित्रको कथा लेखेका हुन् ।

चलचित्रमा सन्तोष अधिकारीको सह–लगानी रहनेछ । निर्माता पाण्डेले डीएस डिजिटलले प्राविधिक उपकरण वितरणको साथमा चलचित्र पनि निर्माण गर्ने बताइन् । बर्षमा एउटा चलचित्र निर्माण गर्ने योजना आफूहरुको रहेको उनले बताइन् । कार्यक्रममा बोल्दै डीएस इन्टरटेन्मेन्टका एक सदस्य दीपेन्द्र के खनालले कथावस्तु राम्रो रहेकाले पनि लगानी गर्न लागेको बताएका थिए । कार्यक्रममा निर्माता माधव वाग्लेले चलचित्र सफलताको शुभकामना दिए ।