तराईमा बेटी पढाउन र बचाउन ब्यस्त रेखा


ब्युटी न्युज नेपाल
काठमाडौं १३ मंसिर

गत कात्तिकमा प्रदर्शित चलचित्र ‘मालिका’मा अभिनेत्री रेखा थापाले तराईको बिकृति दहेज प्रथा र त्यहाँ छोरीमाथि हुने हिंसा एवम् बिभेद बिरुद्ध आबाज उठाएकी थिईन् ।

उनको यही भूमिकाबाट प्रभावित भएर प्रदेश २ को सरकारले अभिनेत्री रेखालाई ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानको अभियन्ता बनाएका छ । यो अभियान्ताको रुपमा उनलाई प्रदेश २ सरकारले अनुबन्धित गरेपछि एक महिनाको लागि अब रेखा प्रदेश २ मा यो अभियानमा व्यस्त हुनेछिन् ।

उनले यो अभियान रौतहटबाट बुधबारबाटै सुरु गरेकी छन् । प्रदेश २ का आठ जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा यही १५ मंसिरदेखि १५ पुससम्म अभियान सञ्चालन हुनेछ ।

अभियान अन्तर्गत विभिन्न स्थानमा पुगेर कार्यक्रममा सहभागी हुँदै अभिनेत्री थापाले छोरीलाई स्कुल पठाउन र पढाउनका लागि सबैलाई पहल गर्नेछिन् । प्रदेशका सबै जिल्लामा छोरीलाई पढाउन र दाइजो प्रथा हटाउन जनचेतनामूलक ‘सडक नाटक’ प्रदर्शन गर्ने र अन्तक्र्रिया कार्यक्रम गरिनेछ ।

छोरीका निम्ति स्वर्णिम नेपाल महाअभियानअन्तर्गत बुधबार परोहा नगरपालिकामा रौतहटमा सम्पन्न संकल्प सम्मेलनमा रेखाले यो अभियानलाई सफल पार्ने प्रतिबद्धता जनाईन् । आफूले यो ठूलो जिम्मेवारी पाएको भन्दै छोरीले अन्याय पाइरहेको अवस्थामा प्रदेश सरकारले दिएको जिम्मेवारीलाई अझ गहनताका साथ सफल गराएर छाड्ने रेखाले बताईन् ।

प्रदेश २ मा अशिक्षा, अन्धविश्वास, दाइजो प्रथा, बोक्सीजस्ता हिंसात्मक घटना व्याप्त रहेको अवस्थामा यस्ता घटनालाई न्यूनीकरण गर्ने नै मुख्य लक्ष्य हुने थापाले बताइन् ।