८० हलबाट आयो लुट निर्माताको चंगा चेट


रिलिज चलचित्र

व्युटी न्युज नेपाल
काठमाडौं, १६ कात्तिक

शुक्रबार १६ कात्तिकबाट नयाँ नेपाली चलचित्र ‘चंगा चेट’ मुलुकका ८० ओटा सिनेमा हलबाट एकसाथ रिलिज भएको छ । लुट र लुट २ सहित थुप्रै सफल चलचित्र निर्माण गरिसकेका निर्माता माधव वाग्लेले चंगा चेट पनि निर्माण गरेका हुन् ।

चंगा चेटमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सुरक्षा पन्त, रवीन्द्र झा, सन्दीप क्षत्री, पारमिता राज्यलक्ष्मी राणा, निश्चल बस्नेत, ऋचा शर्मा, अर्पण थापा, माओत्से गुरुङसहितका कलाकारको अभिनय छ । चलचित्रमा चर्चित कलाकारहरुको उपस्थिति लोभ लाग्दो भएकाले पनि यसलाई दर्शकले रुचाउने निर्माण पक्षको विश्वास छ ।

फिल्मलाई माधवसँगै शर्मिला पाण्डेले निर्माण गरेका हुन् । यो वर्षको तिहारको शुभकामना स्वरुप चंगा चेटलाई रिलिज गरिएको निर्माता वाग्लेले व्युटी न्युज नेपाललाई बताए । यही चलचित्र प्रयोजनका लागि नक्कली भनेर छापिएको नोट यही चलचित्रको छायाँकनमा प्रयोजन गर्दा निर्माता वाग्ले केही समय जेल पनि जानु परेको थियो ।

चलचित्रको कथामै नै नक्कली नोटको कथा समेटिएको पनि निर्माता वाग्लेले व्युटी न्युज नेपाललाई बताए । पद बढुवाको लोभमा नक्कली नोटको प्रकरणमा आफुलाई प्रहरीले फसाएको र फिल्ममा पनि त्यस्तै कथा रहेको निर्माता वाग्लेले खुलासा गरे । यो चलचित्रको गोजीमा दाम छैन…अहिले सर्वाधिक हिट भएकाले पनि गीत जस्तै सिनेमालाई पनि दर्शकले मन पराउने उनले बताए ।

निर्देशक दीपेन्द्र के खनालले चंगा चेट निर्देशन गरेका हुन् । पशुपति प्रसादलगायतका थुप्रै सफल चलचित्रका निर्देशक खनालले बेरोजगार युवाहरूले धेरै पैसा कमाउन नक्कली नोटको कारोबार गर्दा भोग्नु परेको समस्यामा यो चलचित्रको कथा केन्द्रित रहेको बताए । हास्य प्रधानसँगै यो फिल्मले दर्शकलाई पुरा मनोरञ्जन दिने पनि उनले बताए ।