व्युटी न्युज नेपाल
काठमाडौं, ९ असोज

अभिनेत्री सोबिता सिम्खडाको उपन्यास वराङ्गना काठमाडौंमा एक समारोहबीच विमोचन भएको छ ।

बुलबुल पब्लिकेशनले प्रकाशन गरेको उपन्यास वराङ्गना पूर्व प्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्र बहादुर चन्दको प्रमुख आतिथ्यमा उनीसंगै राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता मोहना अन्सारी, बरिष्ठ पत्रकार बबिता बस्नेत, राष्ट्रिय दलित आयोगका पूर्व सदस्य सचीव सीताराम घले परियार, साहित्यकार तथा सञ्चारकर्मी डा. नबराज लम्सालले संयुक्त रुपमा विमोचन गरे ।

कार्यक्रममा पमुख अतिथि पुर्वप्रधानमन्त्री चन्दले नेपाली साहित्य क्षेत्रमा लेखिकाको रुपमा सोबिताको प्रवेशले नयाँ आयाम दिएको बताए । नेपाली चलचित्र क्षेत्रमा सक्रिय कलाकारको कृति व्यवसायिक लेखकको भन्दा कम नभएको उनको भनाई थियो । उपन्यास वराङ्गनाले नेपाली समाजको वास्तविकता बोकेको चन्दको टिप्पणी थियो ।

पुस्तकको समीक्षा गर्दै साहित्यकार, सञ्चारकर्मी, समालोचक डा. नबराज लम्सालले वर्षौंदेखि विश्वविद्यालयमा पश्चिमा साहित्य पढाउँदै आएका प्राध्यापकहरुले अब वराङ्गना जस्ता उपन्यास हेरेर नेपाली विद्यार्थीेले पढ्नुपर्ने कुराको मानक तय गर्नुपर्ने बताए । नेपाली चलचित्र क्षेत्रमा स्थापित भएकी एउटी नायिकाले लेखेको पुस्तक यति उच्च कोटीको बनेको छ भन्दै डा. लम्सालले अब नेपाली साहित्यमा उत्कृष्टताको खोजी अन्त्य हुँदै गरेको महशुश भएको छ भने ।

सञ्चारकर्मी तथा सहित्यकार बबिता बस्नेतले वराङ्गना उपन्यास नेपाली समाजलाई परम्पराबाट अलग बाटोतर्फ लैजान सफल हुन विश्वास व्यक्त गरिन् । सबै कोणबाट पुस्तक उपयुक्त रहेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले महिलाले लेखेको हुनाले उपन्यास लैंगिक समानता आवाज मुखरित गर्न प्रभावकारी रहेको बताईन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय दलित आयोगका पूर्व सदस्य सचीव सीताराम घले परियारले दलितलाई मुख्य पात्रका रुपमा उतारिएको उपन्यास सामाजिक दृष्टिकोणबाट हेर्दा कतै कमी कमजोरी नदेखिएको भन्दै प्रशंसा गरे ।

कार्यक्रम लेखिका सोबिता सिम्खडाकी हजुरआमा बालकुमारी सिम्खडाको सभापतित्वमा सम्पन्न भएको थियो ।