घटस्थापनाको दीन छक्का पञ्जा तीन, आयो ट्रेलर


व्युटी न्युज नेपाल
काठमाडौं ६ असोज

अन्तत यही २४ असोज घटस्थापनाको दिन रिलिज गर्ने घोषणा सहित चलचित्र ‘छक्का पञ्जा–३’को ट्रेलर शनिबार बिहान राजधानीमा एक समारोहबीच रिलिज गरिएको छ ।

शिक्षामा हुने राजनीतिमा चलचित्र छक्का पञ्जा–३ केन्द्रित रहेको ट्रेलर मार्फत दर्शाईएको छ । ट्रेलर अनुसार जितु नेपाल, दीपिका प्रसाईं, बुद्वि तामाङ, शिबहरि पौडेल, यमन श्रेष्ठलगायतका कलाकार शिक्षकको रुपमा प्रस्तुत भएका छन् ।

३ मिनटको यो ट्रेलरमा यसका कलाकारलाई हास्यप्रधान सम्बाद सहित प्रस्तुत गरिएको छ । ट्रेलर अनुसार दीपकराज गिरी र दीपिका प्रसाई दम्पत्तिको भूमिकामा छन् ।

यसमा केदार घिमिरे ‘माग्ने बुढा’ पञ्चे बाजा समुहका नाईके तथा सहनाई फुक्ने भूमिकामा छन् । पञ्चेबाजा जोगाउन खोलिएको समुहको नेतृत्व आफुले यो फिल्ममा गरेको उनले बताए ।

सरकारी स्कुलमा भोज खाँदा निम्तिएको समस्या ट्रेलरमा देखाईएको छ । भोजपछिको बिबादले स्कुल हड्ताल देखि तोडफोड सम्मको समस्या निम्तिएको पनि ट्रेलरमा उल्लेख छ । भोजको घटनाले राजनीतिक रुप लिएपछि सुरु भएको राष्ट्रिय समस्या र त्यसलाई समाधान गर्न स्कुलसम्म शिक्षा मन्त्री समेत हेलिकोप्टर चढेर आउनु परेको प्रसँगलाई पनि ट्रेलरमा समेटिएको छ ।

बिगतमा हास्यप्रधान भए पनि सन्देश प्रधान नभएको भन्ने आरोप लागेकै कारण यसपटक शिक्षालाई मुख्य विषय बनाएको छक्का पञ्जा–३ को निर्देशक दीपाश्री निरौलाले बताईन् ।

यसका अभिनेता, निर्माता दीपकराज गिरीले पनि यसपटक बिगतका सिनेमा भन्दा केही पृथकरुपमा आउन लागेको बताए । चलचित्र राम्रो भएपछि जुनसुकै तिथिमा पनि चलचित्र चल्ने भएकाले यसपटक दशैंको प्रारम्भ अर्थात घटस्थापनामै आफुहरुले छक्का पञ्जा ३ ल्याउन लागेको उनले बताए ।