व्युटी न्युज नेपाल
काठमाडौं, ३ साउन

रुपै मोहनीबाट चर्चा पाएका संगीतकार एवम् गायक टंक बुढाथोकीको स्वर तथा संगीतमा नयाँ चलचित्र ‘जय शम्भु’को रोमाञ्चकारी गीत ‘म त परेँ तिम्रै भर…’को भिडियो बिहीबार काठमाडौंमा एक समारोहबीच रिलिज गरियो ।

यो युगल गीतमा उनलाई स्वरमा गायिका अञ्जु पन्तले साथ दिएकी थिईन् । अञ्जुको स्वर निकै मिठो रहेको यो गीतमा टंकको स्वर निकै सुख्खा, दवेको र केही बेसुरा सुनिएको थियो । आफुलाई रुघा लागेको बेला रेकर्ड गरेकाले सो गीतको स्वर केही नाके एवम् सुख्खा सुनिएको स्पष्टीकरण दिदै टंकले सञ्चारकर्मीसँग माफी मागे । चाँडै मिठो गीत हालेर मात्र यो चलचित्रको भिडियो सार्वजनिक गर्ने बताए ।

यो गीत गाउन गायक सुगम पोखरेललाई बारम्बार अनुरोध गर्दा पनि उनले गाउन समय नदिएकोपछि आफ्नो स्वरमा रेकर्ड गर्नु परेको टंकले बताए । यो गीत गाएबापत निर्मातासँग आफुले पैसा नलिएको पनि उनले प्रस्ट्याए ।

चलचित्र जय शम्भुको पत्रकार भेटघाटमा सार्वजनिक गरिएको गीत बिहिबार साँझ युट्युवमा रिलिज गरिएको छ । प्रेस मिटमा सुनाईको भन्दा युट्युवमा राखिएकोमा केही मिठास छ । तर अञ्जुको तुलनामा टंकको स्वर निकै फित्तलो सुनिएको छ । गीतको दृष्य आकर्षक र संगीत माधुर्य भएका कारण यो गीत सफल हुने आशा गरौं ।

यो गीतमा अमृता नेपालको शब्द, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । गीतको भिडियोमा वर्षा शिवाकोटी र अनुपविक्रम शाहीको प्रेम समेटिएको छ ।

एक्सन लभस्टोरी भनिएको यो चलचित्रको निर्देशन रुपेश तामाङले गरेका हुन् । चलचित्रमा अनुपविक्रम शाही, वर्षा शिवाकोटी र प्रशान्त ताम्राकारसँगै रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राजकुमार थापा, कालु रानालगायतका कलाकारहरूको अभिनय छ ।

दिनेश शाही प्रस्तुतकर्ता रहेको जय शम्भुमा अरविन्द्रमान शाक्य, चक्र पाख्रिन निर्माता छन् । जसमा सह निर्माताहरू कुशल शर्मा र शिक्षा काफ्ले छन् । हरि घले लामाको छायांकन, श्री श्रेष्ठको एक्सन, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ ।

जय शम्भुलाई राजधानीमा बिके फिल्मसका गोपाल काजी कायस्थ र काठमाडौंबाहिर एफडी कम्पनीले वितरण गर्ने पनि वितरकद्वय गोपालकाजी कायस्थ र नरेन्द्र महर्जनले बताएका छन् ।