रिजुले चुमिन १३ औं मिस नेवाको ताज


व्युटी न्युज नेपाल
काठमाडौं, १३ जेठ

नेप्लिज फेशन होमद्धारा आयोजित १३ औं संस्करणको ‘मिस नेवाः ११३८’ को ताज काठमाडौंकी रिजु मानन्धरले चुमेकी छिन् । आफ्ना २० प्रतियोगीलाई पछि पार्दै रिजु नयाँ मिस नेवाः को उपाधि जित्न सफल भएकी हुन् ।

शनिबार बेलुका काठमाडौंको त्रिपुरेश्वर स्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न फाईनल प्रतिस्पर्धामा रिजुले उपाधि र ताज सहित २५ हजार रुपैयाँ र विभिन्न उपहार प्राप्त गरिन् । उनले पब्लिक च्वाईसको उपाधि पनि पाईन ।

नेवार समुदायका युवतीहरुबीच भएको सो प्रतियोगितामा १५ हजार रुपैयाँ सहित फस्ट रनरअपको उपाधि सरिसा श्रेष्ठले हाँसिल गरिन् । यस्तै ५ हजार रुपैयाँ सहित सेकेन्ड रनरअपको उपाधि मतिना मानन्धरले प्राप्त गरिन् । मतिनाले मिस पर्सनालिटीको उपाधि पनि चुमिन् । यस्तै ५ हजार रुपैयाँ सहित मिस ट्यालेन्टको उपाधि सृजु शाक्यले जितिन् ।

सो प्रतियोगितामा अन्य उपाधि पनि प्रदान गरिएको थियो । जस अन्तर्गत बेष्ट ड्रेस र बेष्ट हेयरको उपाधि अञ्जु श्रेष्ठले, ५ हजार रुपैयाँ सहित उत्कृष्ट नेपाल भाषाको उपाधि सरिना महर्जनले, मोस्ट डिसिप्लेनको उपाधि मिलु श्रेष्ठले, बेस्ट स्किनको उपाधि सन्ध्या श्रेष्ठले प्राप्त गरे ।

यस्तै मिस फोटो जेनिक उस्मी श्रेष्ठ, बेस्ट वाक राधा श्रेष्ठ, बेस्ट स्माईल बिना महर्जन, बेस्ट फ्रेन्डसिप प्रदीका श्रेष्ठ, सोसियल वेलफेयर एम्बेस्डर प्रज्ञा श्रेष्ठ र प्रसन्न श्रेष्ठ घोषित भए ।

प्रतियोगिताको निर्णायकमा प्राईम बैंकका उपमहा निर्देशक भाईराजा तुलाधर, व्यबसायी प्रदीपमान प्रधान, बुटिक एसोसिएसनका संस्थापक अध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठ, नेपाल टेलिकमकी उपनिर्देशक रिना डँगोल, पूर्व मिस नेवाः योगिता महर्जन, हामी उठ्न सक्छौंका अभियान्ता निर्मल श्रेष्ठ, लगायत थिए । मिस नेवाको कोरियोग्राफी रोजिन शाक्यले गरेका हुन् । फाईनल कार्यक्रमलाई रोजिन र सुनिता डँगोलले सञ्चालन गरेका थिए ।

नेवार समुदायका युवतीहरुलाई आफ्नो भाषा संस्कृतिबारे जानकारी गराउँदै यसको सँरक्षणमा जागरुकता ल्याउन र प्रतिभा प्रस्तुतिका लागि बिगत १३ वर्ष देखि मिस नेवा प्रतियोगिता नियमित रुपमा गर्दै आएको नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले कार्यक्रममा बताईन् ।