महिला टिचरहरुको पनि सौन्दर्य प्रतियोगिता, टयालेन्ट शोमा नाचे छमछमी


काठमाडौं, २९ फागुन

तेस्रो संस्करणको ‘टिचर आइकन अफ द इयर २०१८’को ट्यालेन्ट शोमा टिचरहरुले विधार्थी जस्तै छमछमी नाचेर निर्णायकलाई रिझाएका छन् । काठमाडौंका विभिन्न स्कुलमा पढाउँदै आएका महिला शिक्षकहरुले समय निकालेर यो सौन्दर्य प्रतियोगितामा सहभागी भएका हुन् ।

 

एएनपी मिडिया हाउसद्वारा आयोजित यो प्रतियोगिताको काठमाडौंमा सम्पन्न ट्यालेन्ट शोमा शिक्षकहरुले नृत्यसँगै अभिनय, वक्तृत्वकला, चित्रकला, गायन प्रस्तुत गरे । प्रतियोगितामा १८ देखि ४५ वर्षका १४ जना महिला शिक्षकाहरु छन् ।

ट्यालेण्ट शोको निर्णायकमा कलाकारहरु ज्योति काफ्ले (नक्कली बाबुराम), अभिनेता आदित्य बुढाथोकी, गायिका रिता केसी, नितु कोइराला, गत वर्षको टिचर आइकन अफ इयरकी विजेता शिल्पी गुप्ता, श्रीकृष्ण लुइटेल (बोके दाह्री) र गायक सीमान्त सन्तोष थिए ।

मिडिया हाउसका प्रवन्ध निर्देशक लबबहादुर कार्कीका अनुसार शिक्षिकाहरुभित्र अन्र्तनिहीत प्रतिभा र क्षमताको प्रष्फुटनका लागि टिचर आइकन अफ द इयरको आयोजना गरिँदै आएको हो ।

प्रतियोगिामा विभिन्न विद्यालयका बिबाहित र अबिबाहित शिक्षिकाहरु छन् । जसमा काजोल खेतान, सुबीता कपाली, प्रेरणा अधिकारी, रेश्मी तण्डुकार, लक्ष्मीदेवी महर्जन, समीका सहानी, बिनीता कपाली, रुपा लामा, सुमीत्रा श्रेष्ठ, होलिना सापकोटा, सनिका श्रेष्ठ, सुशिला मानन्धर, सपना खतिवडा र श्रृजना श्रेष्ठ छन् ।

 

प्रतियोगिताको कोरियोग्राफी अश्विनी झाले गर्दैैछन् । ‘टिचर आइकन अफ द इयर २०१८’को चयन आगामी चैत ५ गते सोमबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने छ ।