एक करोड पुरस्कार सहित ‘नेपाल्स मेघा सिनेस्टार’को खोजी


काठमाडौं, २८ फागुन

अभिनयमा रुची भएकाहरुले अब एक करोड बराबरको उपहार सहित चलचित्रमा मुख्य नायक बन्ने अबसर पाउने भएका छन् । यो अबसर ओमेगा इन्टरटेनमेन्टले जुराएको छ ।

नेपाल चलचित्र क्षेत्रमा थप नयाँ कलाकार ल्याउनका लागि अभिनय सम्बन्धि नयाँ ‘रियालिटी शो’ हुन लागेको हो । यसका लागि ओमेगा इन्टरटेनमेन्ट ‘नेपाल्स मेघा सिनेस्टार’ आयोजना गर्न लागेको हो ।

सोमबार राजधानीमा पत्रकार भेटघाट आयोजना गर्दै सो प्रतियोगिताको घोषणा गरियो । घोषणा कार्यक्रमको उद्घाटन अग्रज चलचित्र निर्देशक एवं गीतकार यादब खरेलले गरे । अग्रज चलचित्र निर्देशक खरेलले नेपाल्स मेघा सिनेस्टारको सफलताको कामना गर्दै गरे । यसले छरिएर रहेका राम्रो प्रतिभा अभिनय क्षेत्रमा ल्याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, अभिनेता सरोज खनाल लगायतले सफलताको कामना दिए । अभिनयको कलाकार चयन गर्ने अहिलेसम्मकै सबै भन्दा ठुलो कार्यक्रमको रुपमा यसलाई आयोजना गर्न लागिएको आयोजक पक्षले जनाएको छ ।

‘नेपाल्स मेघा सिनेस्टार’ मा तिन सिनेकर्मी निर्णायक छन् । जसमा सोभित बस्नेत, निश्चल बस्नेत र माल्भिका सुब्बा रहेका छन् । यो रियालिटी शोमा आफुहरुले उचित निर्णय गरेर उत्कृष्ट प्रतिभा नेपाली सिनेबृत्तका लागि ल्याउने प्रतिबद्धता यी तीन निर्णायकले कार्यक्रममा गरे ।

प्रतियोगिताको निर्देशक प्रवेश सम्राट बरालले नेपालमा धेरै प्रतिभावान कलाकार भएको र उनीहरुले चलचित्रमा आउन अबसर नपाएकाले उनीहरुलाई मञ्च दिलाउँन यो प्रतियोगिता आयोजना गर्न लागिएको बताए । बरालका अनुसार नेपाल्स मेघा सिनेस्टार’को अडिसन आउँदो २८ चैतबाट सुरु हुनेछ । यसको अडिसन काठमाडौँ संगै चितवन,पोखरा, बुटवल,नेपालगन्ज,बिरगंज,इटहरी गरेर नेपालका ७ प्रमुख शहरहरुमा अडिसन हुने भएको छ ।

कार्यक्रम बारे निर्माण प्रमुख समिर लामाले कार्यक्रमलाई अहिलेसम्मकै उत्कृष्ट बनाउने दाबी गरे । उनका अनुासर एपी वान टेलिभिजन च्यानलबाट यो कार्यक्रम आगामी असारको पहिलो सातादेखि प्रसारण सुरु हुनेछ ।

यो रियालिटी शोमा बिजेता हुने एक जनाले एक करोड बराबरको पुरस्कार राशी प्राप्त गर्ने पनि लामाले बताए । उनका अनुसार बिजेताले २० लाख नगद सहित एउटा कार, एक फिल्ममा अनुबन्धित हुने अबसर लगायतको पुरस्कार प्राप्त गर्नेछ । लामाका अनुसार कार्यक्रमका इभेन्ट प्रमुख मन्दिप कोईराला र अर्थ व्यबस्थापक सूर्य बहादुर थापा छन् । आफ्नो टिमले उत्कृष्ट कार्यक्रम प्रस्तुत गर्ने पनि उनले दाबी गरे ।