रेखाले पूर्वपति छबीराजसँगै हेरिन चलचित्र मँगलम्


 

काठमाडौं, २७ फागुन

निर्माता छबीराज ओझाका पूर्व पत्नी एवम् अभिनेत्री रेखा थापाले छबीको नयाँ फिल्म ‘मँगलम्’ हेरेकी छिन् । रेखाले छबीराजको निम्तामा आएर मँगलम् हेर्नुले यी दुईबीच अझै राम्रो सम्बन्ध भएको देखिन्छ ।

निर्माता छबीराजले आईतबार दिउँसो काठमाडौंको सिटी सेन्टर स्थित बिग मूभिजमा रेखालाई फिल्म हेर्न निम्ता गरेका थिए । हाल नयाँ फिल्म लाल मिस्तस्कको निर्माण तयारीमा रहेकी रेखा सो फिल्मको कामबाट फुर्सद निकालेर सो निम्तालाई ग्रहण गर्दै फिल्म हेर्न आएकी हुन् ।

रेखाले पूर्वपति छबिराजसँगै अभिनेत्री शिल्पा पोखरेल, अभिनेता पुष्पल खड्का, पृथ्बीराज प्रसाईं लगायत युनिटसँग मँगलम् हेरिन् ।

मँगलम्मा शिल्पा र पुष्पलको अभिनयले आफ्नो मन छोएकी रेखाले बताईन् । निर्माता छबिराजले फिल्म राम्रो बनाउन कुनै कन्जुस्याईं नगरेको पनि रेखाको भनाई थियो । अन्य कलाकारको अभिनय पनि मन परेको बताउँदै रेखाले भनिन्,‘निर्देशक नवल नेपालले फेरी एक पटक साह्रै राम्रो काम गर्नु भएको छ । उहाँ र छबी बा सहित सबैलाई राम्रो फिल्म बनेकोमा बधाई छ ।’

निर्माता छबीराजले आफ्नो सिनेमालाई दर्शकले सर्वत्र मन पराएको बताए । आफुले निर्माण गरेको यो २६ औं फिल्मलाई राम्रो बनाउन कुनै कन्जुस्याईं नगरेको उनको कथन थियो ।

सञ्चारकर्मीको समेत उल्लेख्य उपस्थित रहेको यो चलचित्रको पत्रकारले पनि प्रसँसा गरेका छन् ।

शुक्रबारबाट मुलुकका ८० ओटा हलमा रिलिज भएको मँगलम्का अन्य कलाकारमा नीर शाह, मिथिला शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाहलगायत छन् ।