फेरि रेशम फिलिलीमा पनि अडिसनबाट पास भएकी नायिका सुपुष्पा यसो भन्छिन्


ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ फागुन

अभिनेत्री सुपुष्पा भट्टले चलचित्र रणवीरबाट आधा दशक अघि डेब्यु गरेकी हुन् । यो चलचित्रमा उनी अडिसनबाट चयन भएकी थिइन् । उनको यो पहिलो चलचित्र नै हिट भएको थियो । पहिलो चलचित्रबाट नै चर्चा पाएकी उनी सुपर हिट चलचित्र दोस्रो चलचित्र छ माया छपक्कैबाट झनै चर्चामा आइन् । यिनै अभिनेत्री सुपुष्पा आफ्नो नयाँ चलचित्र ‘फेरि रेशम फिलिली’बाट लामो समयपछि दर्शकमाझ आउँदै छिन् ।

सुपुष्पा दोस्रो चलचित्रको रिलिज पछि दाम्पत्य सम्बन्धमा बाँधिइन् । चलचित्र निर्माता निर्देशक रौनक विक्रम कँडेलसँग विवाह गरेपछि उनी करिब तीन वर्ष चलचित्रबाट हराइन् । घरायसी कार्य र आफ्नो गृह ब्यानरको चलचित्र निर्माणको तयारीका कारण उनी ओझेलमा थिइन् । यति बेला उनी फेरि रेशम फिलिली मार्फत दर्शकमाझ आउँदै छिन् । उनको यो चलचित्र यही शिवरात्रि १४ फागुनबाट रिलिज हुँदै छ ।

यो चलचित्रमा सुपुष्पासँगै विनय श्रेष्ठ, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापा लगायतको पनि अभिनय छ ।  सिनेमा आर्टको ब्यानरमा निर्माण भएको यो सिनेमा उनको होम प्रोडक्सन हो। आफ्नो गृह ब्यानरको चलचित्रमा पनि निर्देशक र निर्माता (पति)ले अडिसन लिएर चयन गरेको यी अभिनेत्रीले बताएकी छिन् ।

यो चलचित्रको बारे सञ्चारकर्मीसँगको कुराकानीमा सुपुष्पा भन्छिन् – ’सबैभन्दा माथि पुगेजस्तो भयो। एकदमै खुसी लागेको थियो। प्रोडक्सन हाउस राम्रो, निर्देशक मेहनती, स्क्रिप्ट राम्रो र बलियो छ भन्ने थाहा भएकाले हो। राम्रो सिनेमामा काम गर्न पाएँ भनेर खुसी भएँ।’

निर्देशक निरोज महर्जनले लेखेको सुपुष्पाको चरित्रका लागि कस्तो देखिने र कुन नेपथ्यको हो भनेर जस्तो प्रकारले लेखेका थिए, त्यसमा सुपुष्पा ठ्याक्कै फिट हुन्थिन्। त्यसैले उनले अरूलाई खोज्ने कष्ट गरेनन् पनि। यो सिक्वेलमा लगभग पहिलो श्रृंखलाका सबै कलाकार छन्। यो सिनेमाको लिडिङ महिला पात्रमा भने उनी नयाँ अनुहार बनेर आएकी छिन्। त्यसैले उनलाई पहिलो सिनेमाको चुनौती सामना गर्ने चुनौती छ । पहिला रणवीर र अहिले फेरि रेशम फिलिलीको भूमिकाको बारे प्रकाश पार्दै उनले भनिन,’त्यो र योमा तुलना नै गर्न मिल्दैन। दुवै पात्र एक–अर्कासँग बिल्कुलै फरक छन्।’ सुपुष्पाका अनुसार उनले निर्वाह गरेको पात्र बोल्ड छ, जो आफूले चाहेको कुरामात्र सोच्छ र आफूलाई ‘मैं हूँ’ ठान्छ।

’मैले निर्वाह गरेको चरित्रलाई मैले सक्ने मेहनत गरेको छु। त्यो कति फलदायी भयो भन्नेचाहिँ दर्शकबाट बुझ्न बाँकी छ।’ योसँगै फेरि उनलाई पात्रका लागि चाहिनेजति तयारी नपुगेको हो कि भन्ने पनि छ। यसैबिच अर्को सिनेमालाई पनि समय दिएकाले आफ्नो मेहनत नपुगेको हो कि भन्ने उनलाई लागेको हो।

मेहनत नपुगेको जस्तो लागेकी उनी भन्छिन् – ’अझ मेहनत गर्न सक्थे जस्तोचाहिँ लागेको छ।’ सिनेमा गर्दा सुपुष्पाको एउटै चाहना हुन्छ – सिनेमाको स्क्रिप्ट राम्रो होस्, राम्रो परिदृश्य दिइयोस्।

संयोगवश ’फेरि रेशम फिलिली’ त्यस्तै सिनेमा भइदियो उनका लागि। स्क्रिप्ट त राम्रो छ नै, यो सिनेमाको साथमा उनको भूमिकासमेत उत्तिकै राम्रो मिलेको छ। ’मलाई सिनेमाको कुरा आउँदा स्क्रिप्ट राम्रो होस् भन्ने सधैँ लाग्छ। यो सिनेमामा चाहिँ स्क्रिप्टसँगै मेरो भूमिका पनि उत्तिकै राम्रो भएको आयो“, उनले खुसी व्यक्त गरिन्।

उनले गरेको पात्र ’च्यालेन्जिङ’ भएको उनको भनाइ छ। त्यही च्यालेन्जिङ भएकैले उनलाई दर्शकले यसलाई कुन रूपमा ललान् भन्ने चिन्ता भइरहेको छ। ’चिन्ता पनि छ अनि राम्रो हुन्छ भन्ने पनि छ। एक प्रकारले राम्रो आशा र के होला भन्ने नर्भसनेस भइरहेको छ,’ उनले भनिन्।

आफ्नो सिनेमालाई तत्कालै कति रेटिङ दिनुहुन्छ भन्ने प्रश्नको उत्तर दिन अस्वीकार गरेकी उनले कुराकानीको अन्तिममा भने सिनेमाप्रति आत्मविश्वास पनि व्यक्त गरिन् र भनिन् – ’जस्तो गरी लेखिएको थियो, त्यसै गरी पर्दामा उत्रिएको छ।’

सिनेमा आट्र्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कँडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह–निर्मातामा एनि थापा छन् । सिनेमाको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले गरेका हुन् । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दै छन् ।

सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्धन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ ।