गोर्खा वारियर टिम र गुरुङ समुदायबीच  अन्तरक्रिया


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ फागुन

बहुप्रतिक्षित ऐतिहाँसिक चलचित्र गोर्खा वारियरको निर्देशक निर्माता तथा कलाकारहरूको टिमले मँगलबार गुरूङ समुदायको विभिन्न व्यक्तिहरुसँग भेटघाट तथा अन्तरक्रिया गरेका छन् । बृटिश गोर्खा सैनिकमा गुरुङ समुदायको पनि उल्लेख्य सहभागित रहेको र चलचित्रमा विभिन्न गुरुङ कलाकार समेत रहेकाले सोबारे जानकारी गराउन उनीहरुसँग भेटघाट तथा अन्तर्कृया कार्यक्रम गरिएको गोर्खा वारियरको निर्देशक मिलन चाम्सले जानकारी गराएका छन् । यो चलचित्र यही ११ फागुनबाट नेपालका सिनेमा हलमा रिलिज हुने पनि उनले सो भेटमा जानकारी गराए ।

तमु ह्युला छोँज धिँ गुरूङ राष्ट्रिय परिषदको केन्द्रीय कार्यालय मित्र नगरमा सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सो परिषदका केन्द्रिय कोषाध्यक्ष श्री प्रसाद गुरूङ, गुरूङ कलाकार संघका संस्थापक अध्यक्ष राजु गुरूङ, आदिवासी जनजाति चलचित्र महासंघकी उपाध्यक्ष हरिमाया गुरूङ, तमु हयला छोँज धिँ गुरूङ राष्ट्रिय परिषद उपत्यका प्रमुख लोक बहादुर गुरूङ, तमु संचारकर्मी संघका निवर्तमान अध्यक्ष रबिन गुरूङ, चलचित्र निर्देशक खिल बहादुर गुरूङ लगायतले चलचित्र गोर्खा वारियरको चर्चा गर्दै यसले बीर गोर्खाली सैनिकको गाथालाई पर्दामा ससक्त रुपमा प्रस्तुत गर्ने विश्वास व्यक्त गरे । सो भेटघाटका क्रममा उनीहरुले चलचित्रको सफल प्रदर्शनको शुभकामना दिँदै आआफ्नो संजाल र समुदायमा चलचित्र हेर्नका लागि अपिल जारी गर्ने प्रतिबद्दतता समेत जनाए ।

गुरूङ चलचित्रकर्मीहरूको समेत बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा युनिटका तर्फबाट निर्देशक मिलन चाम्सले गोर्खाजको बारेमा बिसौं वर्ष अध्य्यन अनुसन्धान गरेर हाम्रा पुर्खाहरूको वीरता र स्वाभिमानको ऐतिहासिक दस्तावेजको रूपमा आफुले यो चलचित्र बनाउने आँट गरेको बताए । गोर्खालीहरूले विभिन्न काल खण्डमा लडेर किर्तिमान कायम गर्दै नेपालीहरूको शिर उच्च राख्ने कार्यमा गुरूङ समुदायको पनि ठुलो योगदान रहेको निर्देशक चाम्सले उल्लेख गरे । उनले आफ्नो पुर्खा र पितृको सम्मानका लागि पनि चलचित्र हेरिदिन गुरुङ समुदायसँग आग्रह गरे ।

सो अवसरमा यस चलचित्रका अभिनेता रितेश चाम्स, अभिनेत्री रेबिका गुरूङ, सुरज तमु , वीरबल घले(विरूप) सिद्दार्थ सिहलगायतले यो चलचित्रको बारे थप प्रकाश पारे ।