टिन स्टार इन्टरनेशनलमा नेपालबाट प्रसुनजंग


ब्युटी न्युज नेपाल
काठमाडौं १० साउन

नेपालको गायन प्रतिभा प्रसुनजंग पोखरेलले थाइल्याण्डमा हुने अन्तराष्ट्रिय प्रतियोगितामा विभिन्न देशका गायन प्रतिभासँग प्रतिस्पर्धा गर्ने अवसर पाएका छन्। ब्राईट फ्युचर सेकेण्डरी स्कुल, नैकापको कक्षा ९ मा अध्ययनरत राजधानीका प्रसुनजंग पोखरेलले आगामी साता थाईल्याण्डको बैंककमा हुने अन्तराष्ट्रिय प्रतियोगीता टिन स्टार इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्दै आफ्नो गायन कला प्रस्तुत गर्ने अवसर पाएका हुन्। परिवर्तन इभेन्ट हाउसद्वारा १० वर्षदेखि राजधानीमा आयोजना हुँदै आएको नृत्य, गायन तथा अभिनयको प्रतिस्पर्धात्मक कार्यक्रम डीएसए (डान्स, सिंगिङ एन्ड एक्टिङ) सिंगिङ स्टार २०१९ को विजेता भएवापत प्रसुनले सो अन्तराष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएका हुन्। उक्त प्रतियोगितामा गायनबाट प्रतिनिधित्व गर्ने उनी एक्लो प्रतिस्पर्धी हुन्।

देशभरका विभिन्न विद्यालयका करिव हजार जना प्रतिस्पर्धिमध्ये ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गरेका एक सय चार विद्यार्थीलाई पछाडि पार्दैै डीएसए सिंगिङ स्टारमा गायन विधाको विजयी बनेका १४ वर्षिय प्रसुनले टिन स्टार इन्टरनेशनलमा ५५ देशका ११ देखि १४ वर्ष उमेर समूहका सयौं प्रतिभाका बीच आफुलाई प्रतिस्पर्धामा उतार्नेछन्। सौन्दर्य प्रतियोगिताको शैलीमा हुने सो अन्तराष्ट्रिय प्रतियोगितामा प्रसुनले परिचय राउन्डदेखि ट्यालेन्ट, नेशनल ड्रेसजस्ता विभिन्न चरणमा आफुलाई प्रस्तुत गर्ने बताए। प्रसुनले प्रतियोगिमा स्पर्धा गर्ने क्रममा ट्यालेन्ट राउण्डमा गीत प्रस्तुत गर्ने तथा ड्रेस राउण्डमा राष्ट्रिय पोषाकमा सहभागी भई देशलाई अन्तराष्ट्रिय मञ्चमा चिनाउने तयारी गरेको उनलाई विदाई र शुभकामना प्रदान गर्न ब्राइट फ्युचर सेकेण्डरी स्कुलले विद्यालयमा आयोजना गरेको कार्यक्रममा बताए।

सो अवसरमा कार्यक्रमका प्रमूख अतिथी चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले पोखरेलको सफलताको कामना गर्दै यस्ता प्रतिभालाई सहयोग गर्न आफु हरदम तयार रहेको बताए। चन्द्रागिरि नगरपालिका वडा नं १४ का वडाअध्यक्ष राजभाई महर्जनले गायनको माध्यमबाट अन्र्तराष्ट्रिय प्रतियोगीतामा नेपालको तर्फबाट सहभागीता जनाउनु गर्वको विषय भएको चर्चा गरे। ब्राईट फ्युचरका संस्थापक प्रिन्सिपल मोहन कार्कीले प्रसुनलाई शुभकामना दिँदै विद्यालयले पढाईमा मात्र नभई गायन, खेलजस्ता अतिरिक्त क्रियाकलापमा पनि जोड दिँदै आएको खुलाए। प्रसुनकी आमा विमला पोखरेलले आफूले सधँै सन्तानको रुचि र क्षमतालाई ध्यानमा राखेर पढाईसँगै गायनमा लाग्न पनि सहयोग गर्दै आएको खुलाइन्। गायक सत्यसराज आचार्यले प्रसुनले आमाबाबुबाटै राम्रो शिक्षा र हौसला पाएको र विद्यालयमा पनि राम्रो वातावरण पाएकोले भविष्यमा समेत गायन क्षेत्रमा राम्रो प्रगति गर्न सक्ने चर्चा गरे।

त्यस्तै डीएसए सिंगिङ स्टारका आयोजक सस्था परिवर्तन ईभेन्ट हाउसका निर्देशक राज बराईलीले प्रसुन सन् २०१९ का विजेता भए पनि कोभिड १९ का कारण कार्यक्रम रोकिएकाले अहिले उक्त कार्यक्रमका लागि जान लागेको प्रष्ट्याए।

सानैदेखि गायनमा रुचि राख्ने प्रसुन विद्यालयका कार्यक्रममा गीत गाउने गर्थे। सोही क्रममा डीएसए स्टारका लागि विद्यालयममा आयोजित अडिसनमा सहभागी भएका उनी प्रतिस्पर्धाको विजयी नै बन्न पुगेका थिए। उपाधि विजेता भएसँगै उनले साथी बोलको गीत पनि रेकर्ड गराएका छन्। जसमा उनलाई संगीत र स्वरमा टंक बुढाथोकीले साथ दिएका छन्। गीतमाथिको भिडियोमा प्रसुनले अभिनेता राजेश हमालका साथ लोभलाग्दो अभिनयसमेत गरेका छन्। प्रसुनले कार्यक्रममा यो मन त मेरो नेपाली हो बोलको गीत प्रस्तुत गरेका थिए।

प्रसुन आमा बुवासहित विद्यालयमा शिक्षक शिक्षिकाको हौसलाका कारण गायनमा अघि बढ्न सम्भव भएको बताउँछन्। ‘डीएसए सींगीङ स्टारको विजयी बनेपश्चात विभिन्न प्ल्याटफर्म पाईरहेको छु। यहि प्याल्याटफर्ममार्फत देशको प्रतिनिधित्व गर्दै थाईल्याण्डसम्म जान लागेको छु। यहाँसम्म आईपुग्न मलाई परिवार र विद्यालयका शिक्षक शिक्षिकाको निकै सहयोग रहेको छ। विद्यालयले मेरो लागि भनेर छुट्टै संगीत कक्षाको पनि व्यवस्था गरिदिएको छ भने विभिन्न गायन प्रतियोगीतामा सहभागी गराएर मेरो कन्फीडेन्स बढाउने काम गरिरहेको छ’ प्रसुनले भने।