लिटिल आइडल २०२२को खोजी सुरु


ब्युटी न्युज नेपाल
काठमाडौं, २ साउन

‘११ औं मिस लिटिल आइडल २०२२’ को खोजी सुरु गरिएको छ । प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले यो प्रतियोगिता आयोजना गर्दै आएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी यससम्बन्धी जानकारी दिएको हो । यो प्रतियोगिता कोरोना महामारीका कारण दुईवर्ष रोकिएको थियो ।

आयोजक पक्षका अनुसार २०७९ साउन ७ गतेदेखी प्रशिक्षण सुरु गरी साउन २८ गते शनिबार अन्तिम प्रतिष्पर्धा हुने छ । प्रतियोगिताको शीर्ष उपाधि विजेता, फस्ट र सेकेन्ड रनरअपलाई सम्बन्धित विद्यालयमा प्याब्सन काठमाडौंको तर्फबाट एकएक वर्षको छात्रवृत्ति एवं क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

पत्रकार भेटघाटका क्रममा प्याब्सन काठमाडौंका अध्यक्ष प्रेमकुमार राईले प्रतियोगितामा विभिन्न विद्यालयमा अध्ययनरत ८ देखी १३ वर्ष उमेर समुहका बालिका सहभागी हुन पाउने जानकारी दिए,‘बालिकामा निहित प्रतिभा प्रस्फुटन, आत्माविश्वास, व्यक्तित्व विकास एवं सिर्जनात्मक कार्यमा प्रेरित गर्न यसले मदत पु¥याउने छ’, अध्यक्ष राईले भने, ‘प्रतियोगिता साउन २८ गते सांस्कृतिक संस्थानमा भव्य रुपमा आयोजना हुने छ ।’

प्याब्सन काठमाडौंकी उपाध्यक्ष एवं कार्यक्रम संयोजक रीता राई (दाहाल)ले प्रतियोगितामा परिचय राउण्ड, कल्चरल राउण्ड, स्पिच राउण्ड, टप १५ राउण्ड र टप ७ राउण्ड गरी पाँच चरणमा प्रतिष्पर्धा गराइने जानकारी दिइन् । ‘शैक्षिक कोर्षमा नसमेटिएका तर समयअनुसार आवश्यक ज्ञान दिन र छात्राहरुमा निहित क्षमता अभिवृद्धि गर्न प्रतियोगिता राम्रो प्लेटफर्म सावित भएको छ’, उपाध्यक्ष राईले भनिन्, ‘हरेक विद्यार्थीमा केही न केही क्षमता हुन्छ । त्यस्तो क्षमता देखाउन, आत्माविश्वास बढाउन यस्तो प्रतियोगिता चाहिन्छ । यो समयको माग हो ।’
प्रतियोगितामा यस पटकदेखी हरेक सहभागीहरुलाई उनीहरुमा निहित क्षमता र प्रतिभा पहिचान गरी सोहीअनुसार उपाधीसहित सम्मान गरिने भएको छ । ‘सहभागी विद्यार्थीमा जे क्षमता छ, त्यसमा निख्खार ल्याउने र सोहीअनुसार प्रमाणपत्र, उपहार एवं ट्रफीसहित सबैलाई सम्मान गरिने छ’, कोरियोग्राफर रोजिन शाक्यले भने, ‘यसले सहभागीहरुमा उत्साह र प्रेरणा मिल्नुका साथै भविश्यमा केही गर्नुपर्छ भन्ने भावना जागृत गराउने छ ।’

कार्यक्रमलाई सभ्य र भव्य बनाउन प्याब्सन काठमाडौंले उपाध्यक्ष रीता राई (दाहाल)को संयोजकत्वमा सुर्य भण्डारी, अनिल पराजुली, कृष्ण भण्डारी र जेसिका चेम्जोङ सम्मिलित पाँच सदस्सीय कार्यक्रम संयोजन समिति गठन गरेको छ । पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार विद्यालयको सिफारिसमा प्रतियोगितामा सहभागी हुन आवेदन दिनेमध्ये ‘पहिले आउने’ आधारमा लगभग ६० जना छात्राहरुलाई अन्तिम प्रतिष्पर्धामा सहभागी गराइने छ ।