सार्वजनिक सवारी साधनमा २८ प्रतिसतसम्म भाडा बृद्धि


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० असार

इन्धनको मूल्य वृद्धि सहित विभिन्न कारण देखाएर यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । ओली सरकारले जाँदा जाँदै भाडामा २८ प्रतिशतसम्म वृद्धि गरेको हो ।

यात्रुबाहक सवारी साधनको भाडा २८ प्रतिशत, तराईमा चल्ने सवारी साधनमा २० प्रतिशत र पहाडमा चल्ने मालबाहक सवारी साधनमा २६ प्रतिशत भाडा बढाइएको हो । गत असार २७ गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर कायम गरिएको थियो । बढेको भाडा असार २९ गतेदेखि लागू गर्ने निर्णय थियो ।

दुई वा दुईभन्दा बढी प्रदेशमा चल्ने लामो दूरीको सवारी साधनमा भाडा बढाइएको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए । पेट्रोलियम पदार्थको मूल्य वृद्धि, चालक, सहचालकको खर्च र सवारी साधनमा हुने मर्मतलगायत अरु किसिमका खर्चका आधारमा भाडा बढाइएको प्रवक्ता डा भुसालले बताए । विसं २०७२ यता भाडादर नबढाइएकाले अहिले बढाइएको उनको भनाइ थियो ।