आज १३० जनामा कोरोना, कुल सँक्रमित १८६१३ पुगे


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ साउन

नेपालमा आज आइतबार १३० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा १३० जनामा कोरोना सँक्रमण देखिएको हो । यो सँगै नेपालमा आजसम्म कुल संक्रमितको संख्या १८ हजार ६१३ जना पुगेको छ ।

डा. गौतमका अनुसार सबैभन्दा धेरै मोरङमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै दैलेखका २५, अछामका १४, काठमाडौं र इलामका ८/८ जना, बर्दियाका ६ र पर्साका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

कास्की, रोल्पा, सुर्खेत र बाजुरामा ३/३ जना, सुनसरी, महोत्तरी, नवलपुर, सोलुखुम्बु, गोरखा र बाँकेमा २/२ जना तथा झापा, सिराहा, उदयपुर, धनुषा, दाङ, नुवाकोट, रौतहट, मकवानपुर, बारा, रुपन्देही, अर्घाखाँची, जुम्ला र कञ्चनपुरमा एकएक जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा ७५ जना कोरोना सँक्रमण मुक्त भएर घर फर्किएको पनि डा. गौतमले बताए । यस्तै यो सँगै हालसम्म १३ हजार १२८ जना निको भएर घर फर्किसकेका छन् ।

यस्तै यतीबेला देशभरका क्वारेन्टाईनमा कुल १७ हजार ९०३ जना रहेको पनि डा. गौतमले बताए । यसैगरी देशका विभिन्न आईसोलेसन सेन्टरमा ५ हजार ४४० जना रहेका छन् । नेपालमा कोरोना सँक्रमणबाट हालसम्म ४५ जनाको निधन भईसकेको पनि डा. गौतमले बताएका छन् ।