काठमाडौं । फिल्म ‘कोहिनुर’ प्रदर्शन भएको झण्डै तीन वर्षपछि फिल्ममा पुनरागमन गरेकी नायिका स्वेता खड्का अभिनित फिल्म ‘कान्छी’को ट्रेलर सार्वजनिक भएको छ । स्वेताकै लगानी रहेको फिल्मको ट्रेलर मंगलबार पत्रकार र फिल्म युनिटमाझ सार्वजनिक गरियो ।

मुस्ताङको लोकेशनमा छायांकन गरिएको फिल्मको ट्रेलर कान्छीको भूमिकामा रहेकी स्वेताकै वरपर घुमेको देखिन्छ । गाउँले भूमिकामा देखिएका दयाहाङ राई र सहरीया लुक्समा देखिने कलाकार विनोद न्यौपानेले स्वेतालाई पाउन गरेको संघर्षलाई देखाइएको छ ।  ३ मिनेट लामो ट्रेलरमा दयाहाङ राई, श्वेता खड्का, अशान्त शर्मा, अनु शाह, कामेश्वर चौरासिया, निर शाहलगायतलाई देख्न सकिन्छ । आकाश अधिकारी निर्देशित यो फिल्ममा कमेडी, सस्पेन्स र रोमान्सलाई दर्शकले हेर्न पाउने निर्माण पक्षले जनाएको छ ।

निर्देशक आकाशले फिल्मको ट्रेलर हेरेर दर्शकले मनपराउने आशा व्यक्त गरे । ‘फिल्मको बारेमा सबै कुरा सार्वजनिक भइसकेका छन् । अब हलमा मात्र प्रदर्शन हुन बाँकी छ,’उनले भने,‘ट्रेलर निकै मेहनत गरेर बनाएका छौं । ट्रेलरले दर्शकलाई फिल्म हेर्न हलसम्म तान्छ भन्नेमा विश्वस्त छौं ।’ आकाशले यसअघि फिल्म ‘कोहिनूर’को पनि निर्देशन गरेका थिए । नायिका तथा निर्मात्री स्वेताले फिल्ममा आफ्नो भूमिकामा दर्शकले न्याय दिने बताइन् ।

फागुन ४ बाट प्रदर्शनमा आउने फिल्ममा स्वेतासँगै शैलेश खड्का निर्माता र रविन खड्का सह–निर्माता छन् । शम्भुजित बास्कोटा अतिथि संगीतकार रहेको फिल्ममा राजनराज शिवाकोटी, अर्जुन पोखरेलको संगीत, बसन्त श्रेष्ठको नृत्य, यम थापाको लेखन, हिमाल केसीको द्वन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन तथा पुरुषोत्तम प्रधानको छायांकन छ ।