मुम्बई
एजेन्सी, १७ बैशाख

केही वर्ष देखि क्यान्सरको समस्यासँग जुधिरहेका बलिउड अभिनेता इरफान खानको अन्तत ५४ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ । मँगलबार बिहान सिकिस्त भएपछि मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा भर्ना भएका उनको बुधबार बिहानीपख निधन भएको सो अस्पातालले जनाएको छ ।

उनको निधनले यतीबेला बलिउड शोकमा छ । लक डाउनमा सिनेकर्मीहरुले उनको अन्त्यष्टीको तयारी गरिरहेका छन् । प्रहरी प्रसासनसँगको अनुमती लिएर इरफानको अन्त्यस्टीको तयारी भईरहेको छ ।

उनी बिगत दुई वर्षदेखि क्यान्सरसँग जुधिरहेका थिए । उनलाई सन २०१७ मै क्यान्सरको लक्षण देखिएको थियो । त्यसपछि अभिनेता खानले लामो समय लन्डनमा उपचार गराएर गत वर्ष मात्र भारत फर्किएका थिए । त्यसबेला उनलाई न्यूरोइन्डोक्राइन ट्यूमर भएको थियो । लन्डनबाट फर्केयता उनी कोकिलाबेन अस्पतालका डाक्टरको निगरानीमा थिए ।

अभिनेता खानलाई शनिबारमात्र मातृशोक परेको थियो । उनकी आमा सईदा बेगमको शनिबार राजस्थानको जयपुर स्थित घरमा निधन भएका थियो । भारत लक डाउनको कारण आमाको अन्त्यस्टिमा जान पाएका थिएनन् । उनले भिडियो कलमार्फत आमाप्रति श्रद्धान्जली प्रकट गरेका थिए ।

अभिनेता इरफान मँगलबार गँभिर बिरामी भएका थिए । बेहोस भएर अस्पताल भर्ना भएका उनलाई चिकित्सकहरुले बचाउन सकेनन् ।
७ फेब्रुअर १९६६ मा राजस्थानमा जन्मिएका अभिनेता ईरफान नाटक हुँदै बलिउड फिल्ममा छिरेका थिए । भारत सरकारबाट उत्कृष्ट अभिनेताको नेशलन अवार्ड जितेका इरफानको स्लमडग मिलिनेयर सलाम बम्बे, मकबुल, पान सिंह तोमर, द लन्चबक्स, हैदर, गुन्डे, पिकुलगायत दर्जनौ फिल्म हिट छन् ।

उनको दुई महिना अघिमात्र पछिल्लो सिनेमा अँग्रेजी मिडियम रिलिज भएको थियो । जसमा करिना कपुर उनको नायिका थिईन् । क्यान्सर पीडित भएपछि उनले खेलेको यो नै अन्तिम फिल्म भयो ।