मदनकृष्णसँग छोरी सरानाले ल्याईन गीत


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ माघ

बरिष्ट हास्य अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठकी छोरी सराना श्रेष्ठ पनि गायनमा आएकी छिन् । उनको स्वरमा रहेको नयाँ गीत ‘पानी छायाँ…’को भिडियो काठमाडौंमा सार्वजनिक गरिएको छ ।

यो गीतको एउटा अन्तरा गायनमा सरानालाई उनका पिता तथा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले साथ् दिएका छन् ।
यो गीतमा राजेन्द्र थापाको शब्द, राजनराज शिवाकोटीको संगीत रहेको छ । शुक्रबार बेलुका काठमाडौंमा एक कार्यक्रमबीच गीतको भिडियो रिलिज गरियो । कार्यक्रममा सरानासँगै मदनकृष्ण श्रेष्ठ हरिवंश आचार्य, राजेन्द्र थापा, दीपाश्री निरौला, केदार घिमिरे, भिडियोका निर्देशक सुव्रतराज आचार्य र कार्यक्रमका होस्ट सन्दीप क्षत्रीले संयुक्त बिमोचन गरे ।

कार्यक्रममा उपस्थितले सरानाको स्वरको तारिफ गरेका थिए । साथै भिडियोलाई पनि रुचाए । विशेषत भिडियोमा प्रस्तुत गरिएको कन्सेप्टको चर्चा भयो । भिडियोमा मदन र सरानासँगै केविश पाण्डे , आर्शिना भट्टराईको पनि अभिनय रहेको छ । भिडियोमा राजिव समरको कोरियोग्रफी रहेको छ भने यसलाई नवराज उप्रेतीले छायाँकन गरेका हुन् । सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । ‘मैले मदन दाइ र सरानाको भिडियोलाई निर्देशन गर्ने मौका पाए , यो मेरो लागि अवसरसँगै चुनौती पनि थियो’ सुव्रतले भने ।

बिमोचन समारोहमा बोल्दै गायक एवम् बरिष्ट कलाकार मदनकृष्ण श्रेष्ठले आफुलाई छोरीको स्वर निकै मन पर्ने बताए ।छोरीको स्वर सफा छ अनि शब्द उच्चारण क्लियर भएको पनि उनले जिकिर गरे ।
बरिष्ट हास्यकलाकार हरिबँश आचार्यले त सरानाको गीतको प्रसँसा गर्दै सराना बेकार अमेरिका गइन कि जस्तो लाग्छ भने।एउटी राम्री गायिका अनि अभिनय गर्न सक्ने नायिका १७ वर्ष अमेरिकामा बसेर नेपाली गीत सँगीतलाई घाटा भएको उनले बताए । मदन दाइको रगतमै संगीत भएकाले सरानाको आवाजमामा आफ्नै मिठास भएको उनले जिकिर गरे । 

गायिका सरानाले बुवासँग धेरै पटक गीत सुनाउने गरेको सुनाईन् । शुक्रबारको यो पहिलोपट रेकर्ड रिलिज भएर पनि छोटो समयमा चर्चामा आएको बताए ।