मिस फारवेष्ट नेपालको खोजी सुरु


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ भदौ

सुदुर पश्चिम प्रदेशका युवतीहरुका लागि मिस फारवेष्ट नेपालको दोस्रो संस्करण पनि हुने भएको छ । आयोजक संस्थाले यो प्रतियोगिताको लागि प्रतियोग आह्वान गरेको छ ।

आयोजक संस्था रोयल कोलावोरेटिभ्स प्रालिले काठमाडौंमा बुधबार पत्रकार भेटघाट आयोजना गर्दै आवेदन फारम सुरु भएको जनाएको हो । यो सुदुर पश्चिम प्रदेशकै ठुलो व्युटी पेजेन्ट भएको आयोजक गजेन्द्र विक्रम शाहीले बताए ।

मिस फारवेष्ट नेपाल २०१९ को लागि महेन्द्रनगर, टीकापुर र धनगढीमा क्रमशः असोज ३,४ र ५ गते अडिशन हुने पनि शाहीले बताए । अडिशनबाट चयन भएका २७ जना प्रतियोगीहरुलाई एक महिनाको प्रशिक्षण पछि २७ कात्तिकमा फाईनलमा उतारेर बिजेता घोषणा गरिने छ । यो प्रतियोगिताको कोरियोग्राफर जेनिशा तामाङ रहेको छ ।

प्रतियोगिताको निर्णायकमा पूर्व मिस नेपाल सुगारिका केसी, मिस नेपाल आयोजक संस्था हिडन ट्रेजरका प्रमुख गोपाल कक्षपति, नमुना कलेज अफ फेसन टेक्नोलोजीकी प्रमुख ज्ञानी शोभा तुलाधार, चलचित्र निर्माता सरोज न्यौपानलगायत रहने छन् ।

प्रतियोगिताको बिजेताले एक स्कुटर, फस्ट रनरअपले ५० हजार र सेकेन्ड रनरअपले २५ हजार रुपैयाँ पाउने पनि आयोजक शाहीले बताए ।

रोयल कोलावोरेटिभ्स प्रालि धनगढीले सुदूरपश्चिमकै पहिलो कपडा बैंकका रूपमा धनगढीमा कपडा बैंकको स्थापना गरेको छ । जहाँबाट गरिब, असहायलाई राहत भइरहेको छ । र सो कार्यलाई अहिले धनगढी उपमहानरपालिकाले पनि सघाइरहेको अध्यक्ष शाहीको कथन छ ।