१४ सिनेकर्मी र चार सिनेमा हललाई सम्मान गर्दै विकाश बोर्ड


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ असार

आफ्नो १९औं वार्षिक उत्सबको अवसर पारेर चलचित्र विकास बोर्डले भोली १६ असारमा १४ चलचित्रकर्मीहरुलाई ‘चलचित्रकर्मी विशिष्ट योगदान सम्मान–२०७६’, बाट सम्मानित गर्ने भएको छ । सोही कार्यक्रममा बोर्डले चार चलचित्र भवनलाई विशिष्ट योगदान सम्मान सहित विशेष चलचित्रमा छनोट भएका तीन चलचित्र, डिजिटाइजेशन तथा रेस्टोरेशन प्राविधिक समितिलाई र बोर्डका कर्मचारीलाई कदरपत्र प्रदान गर्ने भएको छ ।

नेपाली चलचित्रको सुरुवातदेखि ०५० को दशकसम्म निरन्तर योगदान पुर्याएको ठहर सहित उनीहरुलाई सम्मान गर्न लागिएको बोर्ड अध्यक्ष केशब भट्टराईले जानकारी गराएका छन् ।

नेपाली चलचित्र क्षेत्रमा २० देखि ५० को दशकसम्म विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत अग्रणी चलचित्रकर्मीहरुलाई विशिष्ट योगदान सम्मानबाट सम्मानित गर्ने निर्णय चलचित्र विकास बोर्डले गरेको छ ।

यसै क्रममा अभिनेताहरुको तर्फबाट २०३० को दशकदेखि अहिलेसम्म पनि नेपाली चलचित्र क्षेत्रमा निरन्तर योगदान दिनुहुने दुई बरिष्ठ अभिनेता शिव श्रेष्ठ र भुवन के.सी.लाई विशिष्ट योगदान सम्मानबाट सम्मानित गरिने भएको छ । नायिकातर्फ पहिलो नेपाली चलचित्र “आमा”बाट अभिनय यात्रा सुरु गरेर अहिलेसम्म पनि निरन्तर योगदान दिनुहुने प्रथम अभिनेत्री भुवन चन्दलाई विशिष्ट योगदान सम्मानबाट सम्मानित गर्ने निर्णय भएको छ ।

निर्देशकहरुबाट २०३०को दशकदेखि अहिलेसम्म सक्रिय बरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई विशिष्ट योगदान सम्मानबाट सम्मानित गर्ने निर्णय गरिएको छ । संगीततर्फ २०४० को दशकबाट अहिलेसम्म ३ सयभन्दा बढी नेपाली चलचित्रमा सङ्गीत दिन सफल बरिष्ट संगीतकार शम्भुजीत बासकोटालाई विशिष्ट योगदान सम्मानबाट सम्मानित गरिने भएको छ । यस्तै चलचित्र निर्माणतर्फ २०४० को दशकबाट अहिलेसम्म निरन्तर फिल्म निर्माण गरेर योगदान पुर्याएबापत बरिष्ट चलचित्र निर्माता छविराज ओझालाई विशिष्ट योगदान सम्मानबाट सम्मानित गरिँदैछ ।

यस्तै नृत्य निर्देशनतर्फ २०३० को दशकदेखि अहिलेसम्म निरन्तर नृत्य निर्देशन गर्दै आउनु भएका बरिष्ट नृत्य निर्देशक बसन्त श्रेष्ठलाई विशिष्ट योगदान सम्मानबाट सम्मानित गरिने भएको छ । २०४० को दशकबाट द्वन्द्व कलाकार हुँदै द्वन्द्व निर्देशन सुरु गरेर यसलाई निरन्तता दिँदै आउनु भएका बरिष्ट द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई पनि विशिष्ट योगदान सम्मानबाट सम्मानित गरिने भएको छ ।

प्राविधिकतर्फ नै नेपाली चलचित्रको प्रारम्भदेखि अहिलेसम्म चलचित्र ध्वनीमा योगदान पुर्याएबापत बरिष्ट ध्वानी विज्ञ प्रदीपकुमार उपाध्यायलाई विशिष्ट योगदान सम्मानबाट सम्मानित गरिने भएको छ । नेपाली चलचित्रको प्रारम्भिककालदेखि अहिलेसम्म निरन्तर छायाङ्कनमा योगदान पुर्याएबापत बरिष्ट छायाँकार मञ्जुकुमार श्रेष्ठलाई विशिष्ट योगदान सम्मानबाट सम्मानित गरिने भएको छ ।

प्रचारतर्फ २०४० को दशकबाट अहिलेसम्म १२ सयभन्दा बढी नेपाली चलचित्रको पोष्टर डिजाईन गरेर योगदान पुर्याएबापत बरिष्ट डिजाईनर सुन्दर श्रेष्ठलाई यो सम्मानबाट सम्मानित गरिँदैछ । चलचित्र पत्रकारितातर्फ २०४० को दशकबाट अहिलेसम्म निरन्तर चलचित्र पत्रकारिता गरेर योगदान पुर्याउनेबापत बरिष्ट चलचित्र पत्रकार बिजयरत्न तुलाधारलाई यो सम्मानबाट सम्मानित गरिँदैछ । यस्तै नेपाली चलचित्रसँगै विज्ञापन निर्माणमा ०४० को दशकबाट निरन्तर योगदान पु¥याए बापत बरिष्ट व्यक्तित्व निर्मलराज पौडेललाई विशिष्ट योगदान सम्मानबाट सम्मानित गरिने भएको छ । विदेशी भएर नेपालमा चलचित्र निर्देशन गरी नेपाली भाषा, साहित्य, कला, सँस्कृति र भूगोललाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउन योगदान पु¥याए बापत जापानी नागरिक डा. तोसिआकी इतोहलाई विशेष सम्मानबाट सम्मानित गरिने भएको छ ।

नेपाली चलचित्रको प्रारम्भदेखि अहिलेसम्म योगदान पुर्याएको काठमाडौंको विश्वज्योति सिनेमा भवन, विर्तामोडको श्रीकृष्ण चलचित्र मन्दिर र पोखराको विन्ध्यवासिनी चलचित्र भवनलाई सम्मानित गरिने भएको छ । यस्तै नेपाली चलचित्रको प्रदर्शनीमा डिजिटल्ली क्रान्ति ल्याउन सफल क्युएफएक्स सिनेमा समूहलाई पनि विशेष सम्मानबाट सम्मानित गरिने भएको छ । चलचित्र भवनतर्फ नेपाली चलचित्रको विकास र विस्तारमा योगदान पुर्याउने चार ओटा हललाई विशिष्ट योगदान सम्मानबाट सम्मानित गर्न लागिएको हो ।

वार्षिकरुपमा बोर्डबाट प्रदान गरिँदै आएको विशेष चलचित्रका लागि छनौट गरिएका तीनवटा चलचित्रलाई विशेष चलचित्र–२०७५ बाट सम्मान एवं पुरस्कृत गरिने भएको छ । साथै चलचित्र विकास बोर्डको स्वीकृत वार्षिक कार्यक्रम सफलरुपमा कार्यान्वयन गर्न विशेष योगदान पुर्याउने कर्मचारीहरुलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको छ ।