‘छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव’ दिनेश लिङदेन उत्कृष्ट, ‘ङोल्स्यो रामरानी’ उत्कृष्ट चलचित्र


ब्युटी न्युज नेपाल
काठमाडौँ, २० जेठ

आदिवासी समुदायका विभिन्न १३ वटा चलचित्र, लघु चलचित्र एवम् बृत्तचित्र प्रदर्शन गर्दै ‘छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव २०८३’ काठमाडौँमा सम्पन्न भएको छ ।

आदिवासी चलचित्रसम्बन्धी विभिन्न १४ ओटा जातीय संस्थाको मुल संस्था आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा यो महोत्सव आइतबारबाट काठमाडौँ सुरु भएको थियो । तीन दिन चलेको यो महोत्सव मंगलवार बेलुका विभिन्न विधामा अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ ।

चाबहिल स्थित चलचित्र विकास बोर्डमा आयोजना गरिएको यो महोत्सवमा चलचित्र प्रदर्शनसँगै अन्तरक्रिया, झाँकी प्रदर्शनी तथा विभिन्न जातजातिको खानाका स्टलहरु पनि राखिएको थियो । महोत्सव तीन दिनसम्म आदिवासी मय बनेको थियो ।

महोत्सव समापन समारोहमा उत्कृष्ट आदिवासी चलचित्र निर्देशकको अवार्ड लिम्बु चलचित्र ‘रीत’बाट दिनेश लिङदेनले जिते । यस अघि उनले यो चलचित्रबाट नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पनि उत्कृष्ट निर्देशकको अवार्ड जितेका थिए । ‘रीत’बाटै निर्माता आशा नेम्वाङ राईले दर्शकको सबै भन्दा धेरै भोट प्राप्त गरेर पब्लिक च्वाईस अवार्ड प्राप्त गरिन् । महोत्सवमा उत्कृष्ट आदिवासी चलचित्रको अवार्ड गुरुङ चलचित्र ‘ङोल्स्यो रामरानी’ले जितेको छ । यही चलचित्रले उत्कृष्ट स्क्रिप्टको अवार्ड पनि हाता पार्यो ।

आदिवासी जनजाति फिचर चलचित्र तर्फ नै उत्कृष्ट अभिनेताको अवार्ड मगर चलचित्र ‘दिलसरा’बाट कल्याण राना मगरले र उत्कृष्ट अभिनेत्रीको अवार्ड नेपाल भाषाको चलचित्र ‘स्वयनगु’बाट भिन्तुुना श्रेष्ठले जितिन् । उत्कृष्ट छायांकारको अवार्ड तामाङ चलचित्र ‘ह्याङ तामाङ’बाट सूर्य लामाले प्राप्त गरे ।

यस्तै उत्कृष्ट आदिवासी वृत्तचित्रको अवार्ड मगर भाषाको ‘आग्रे’बाट अनिल बुढामगरले जिते । समारोहमा राजवंशी वृत्तचित्र ‘विराटनगरके प्राचीन राजवंशी’का निर्देशक अरविन्द विस्वासलाई जुरी अवार्ड प्रदान गरियो ।

उत्कृष्ट आदिवासी लघु चलचित्रको अवार्ड मगर लघु चलचित्र ‘लाहुरेनि’ले पायो । सोही समारोहमा इन्करेजमेन्ट अवार्ड तामाङ लघु चलचित्र ‘दुखला ग्यम’लाई प्रदान गरियो ।

समारोहमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निमित्त प्रमुख राम मादेनले यस्ता महोत्सवले आदिवासी चलचित्रहरूलाई मूलधारमा आउन मद्दत पुग्ने बताए । महोत्सव निर्देशक सागर केरुङले यो महोत्सवमा आउँदा वर्षबाट अझ धेरै आदिवासी जनजाति चलचित्रहरू समेट्ने प्रतिबद्धता जनाए ।

समापन समारोहमा नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष अरुण कुमार प्रधान, आदिवासी जनजाति महासंघका उपाध्यक्ष अमृत सुनुवार, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समिर बलामीले नेपालमा आदिवासी जनजाति समुदायका चलचित्रको अवस्थाबारे आफ्नो भनाई राखे ।

चलचित्र निर्देशक, पत्रकार एवम् नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका निर्देशक डब्बु क्षत्रीले नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको अवस्थाबारे प्रकाश पारे । महासंघकी कार्यवाहक अध्यक्ष भुइसल लामाले महोत्सव गर्नुको उदेश्यबारे कार्यक्रममा प्रकाश पारिन् ।