ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ बैशाख
विश्व चर्चित नृत्य प्रतिस्पर्धा “वर्ल्ड अफ डान्स” को नेपाली संस्करण “वर्ल्ड अफ डान्स नेपाल २०२६” को दोस्रो संस्करण औपचारिक रूपमा सार्वजनिक गरिएको छ। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत निर्णायक मण्डल, अडिसन तालिका र पुरस्कार विवरण सार्वजनिक गरिएको हो। सन् २००८ मा दक्षिणी क्यालिफोर्नियाबाट सुरु भएको यो अन्तर्राष्ट्रिय फ्रेन्चाइज हाल ५० भन्दा बढी देशमा फैलिएको छ, जसले नेपाली प्रतिभालाई विश्वस्तरमा चिनाउने लक्ष्य लिएको छ।
कार्यक्रममा सहभागी कलाकार तथा व्यक्तित्वहरूले नृत्यलाई कला, संस्कृति र पहिचानसँग जोडिएको सशक्त माध्यमका रूपमा व्याख्या गरे। अभिनेता दयाहाङ राईले नयाँ पुस्तालाई आफ्नो मौलिकता जोगाउँदै अगाडि बढ्न आग्रह गरे भने बुद्धि तामाङले नृत्य र नाटकले समाजको यथार्थ बोकेको बताए। नृत्याङ्गना कविता नेपालीले लुकेका प्रतिभाका लागि यो अवसर महत्वपूर्ण रहेको उल्लेख गरिन्। साथै, परीक्षा लिम्बु, प्रशान्त ताम्राकार र सिसन बानियाँले पनि कार्यक्रमले नेपाली कलाकारलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा अमेरिकास्थित दूतावासले पनि सहकार्य जनाएको छ। दूतावासका प्रतिनिधि माइक हार्करले यो प्रतियोगिताले नेपाल र अमेरिका बीच सांस्कृतिक सम्बन्ध बलियो बनाउने धारणा राखे। “वर्ल्ड अफ डान्स” को उत्पत्ति लस एन्जलसमा भएकाले यसमा सहकार्य गर्न पाउँदा आफूहरू उत्साहित रहेको उनले बताए।
समारोहमा ट्रेलर प्रदर्शनसँगै निर्णायकहरूको परिचय पनि गराइएको थियो। बलिउडका चर्चित कोरियोग्राफर टेरेन्स लुइसलाई सेलिब्रेटी ग्रान्ड जजको रूपमा घोषणा गरिएको छ। उनी “डान्स इन्डिया डान्स” र “इन्डियाज बेस्ट डान्सर” जस्ता चर्चित शोका निर्णायकका रूपमा परिचित छन्। साथै, नेपालका चर्चित डान्स समूह ‘वाइल्ड रिपर्ज क्रु’का सदस्य किरण थापा र कलात्मक निर्देशक जेडी तमु पनि निर्णायक टोलीमा रहनेछन्।
देशभरका प्रतिभालाई समेट्न पाँच शहरमा अडिसन आयोजना गरिनेछ। वैशाख १९ मा नेपालगन्ज, २२ मा बुटवल, २६ मा पोखरा, ३० मा काठमाडौं र जेठ २ मा इटहरीमा अडिसन हुनेछ। सेमिफाइनल जेठ २१ मा र ग्रान्ड फिनाले जेठ २३ मा सम्पन्न हुने तालिका सार्वजनिक गरिएको छ।
प्रतियोगिता चार विधामा विभाजन गरिएको छ—अपर डिभिजन, जुनियर डिभिजन, अपर टिम र जुनियर टिम। प्रत्येक विधाका विजेताले १ लाख रुपैयाँ नगद, २४ क्यारेट गोल्ड प्लेटेड ट्रफी तथा गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्। साथै उत्कृष्ट पहिरन, विषयवस्तु र दर्शकको रोजाइका आधारमा पनि अवार्ड प्रदान गरिनेछ। विजेतालाई अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि दिइनेछ।
कार्यक्रमका राष्ट्रिय निर्देशक रोशन गहतराजले नेपालमै अन्तर्राष्ट्रिय स्तरको मञ्च उपलब्ध गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। साथै, जेडी तमुले नेपाली कला र संस्कृतिलाई विश्वमा चिनाउने लक्ष्यका साथ यो पहल गरिएको स्पष्ट पारे।



