विजय बरालसँगै रत्यौली खेल्दै पुजा शर्मा, आफैँ निर्माता


ब्युटी न्युज नेपाल
काठमाडौँ, १ बैशाख

विवाह पछि अभिनेत्री पूजा शर्मा नायिकाको रुपमा अभिनयसँगै चलचित्र निर्माणमा फर्किएकी छिन् । उनले नयाँ वर्ष २०८३ सालको पहिलो दिनमा नायिका पूजा शर्माले नयाँ फिल्म निर्माणको घोषणा गरेकी छिन् । धेरैले अब उनी चलचित्रमा नफर्कने भनेर गरेको अनुमानलाई उनले तोडेकी छिन् । नाईटिङ्गेल ईन्टरटेन्मेन्ट प्रा.लि र पूजा शर्मा प्रोडक्सको निर्माणमा उनले बनाउने लागेको चलचित्रको नाम ‘रत्यौली’ राखिएको छ ।

यो फिल्ममा नायिका पूजा शर्मा र नायक विजय बरालको जोडी सहितको पोष्टर सार्वजनिक गरिएको छ । विजय र पूजाले फिल्मको पर्दामा पहिलो पटक काम गर्न लागेका हुन् । सार्वजनिक पोष्टरमा विजय र पूजा रत्यौलीमा नाँचिरहेको देख्न सकिन्छ । पूजाले दौरा सुरुवाल र नेपाली टोपी लगाएकी छिन् । साथै, उनको ओठमा जुँगा देख्न सकिन्छ । यसबाट पनि फिल्म रमाइलो बन्ने विश्वास गर्न सकिन्छ । यो चलचित्र मुस्कान ढकालको निर्देशनमा तयार हुनेछ ।

फिल्मको बिषयमा अरु केही पनि खुलाइएको छैन । पहिलो पटक फिल्मको पर्दामा देखिन लागेका विजय र पूजाको जोडी दर्शकका लागि चासो रुपमा रहने पक्का देखिएको छ ।

यो फिल्मलाई सुरज आचार्यले निर्माण गर्दैछन् । १ सय भन्दा बढी नेपाली फिल्ममा प्रोडक्सन डिजाइनरको रुपमा काम गर्दै आएका सुरज आचार्यले सुपरहिट भारतीय फिल्ममा पनि लाइन प्रोड्यूसरको रुपमा काम गरेका छन् । उनले, ‘उचाई, फर्जी, मिराई, टिसोन नाइडु, दश का दम’ लगायतका फिल्ममा लाइन प्रोड्यूसरको रुपमा काम गरिसकेका छन् । उनै, सुरज ‘रत्यौली’ निर्माणमा अगाडि सरेका हुन् ।

३२ वर्षदेखि फिल्म क्षेत्रमा सक्रिय सुरज आचार्यले ‘मेरो लभ स्टोरी, कर्मयोद्धा’मा सह–निर्माता र ‘वरमाला’मा निर्माताको रुपमा काम गरिसकेका छन् ।