अमेरिका र क्यानडाका लागि ‘परालको आगो’ प्रदर्शन अधिकार बिक्री


ब्युटी न्युज नेपाल
काठमाडौँ, १६ फागुन

सुशील पोखरेलको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘परालको आगो’ अमेरिका र क्यानडामा प्रदर्शनका लागि बिक्री भएको छ। निर्माण पक्षले फस्ट लुक सार्वजनिक गरेको दुई दिनमै ती देशका लागि प्रदर्शन अधिकार बिक्री भएको जानकारी दिएको हो।

निर्माता सुशील पोखरेलका अनुसार अमेरिका र क्यानडाका लागि चलचित्र इएनटीले प्रदर्शन अधिकार किनेको छ। उनले अन्य देशहरूसँग पनि प्रदर्शनबारे छलफल जारी रहेको बताए। “हाम्रो फिल्मलाई अमेरिका र क्यानडामा प्रदर्शन अधिकार बिक्री गरिसकेका छौँ, अन्य देशहरूसँग पनि कुराकानी भइरहेको छ,” उनले भने।

लक्ष्मण सुनारको निर्देशनमा बनेको यस फिल्म छायांकनअघिदेखि नै चर्चामा थियो। पोस्टर रिलिज भएसँगै दर्शकमाझ थप कौतुहलता देखिएको छ भने विदेशमा रहेका नेपाली दर्शकहरूले पनि फिल्मप्रति चासो देखाएको निर्माण टिमले जनाएको छ।

ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध तथा समाजभित्र लुकेका मनोवैज्ञानिक र भावनात्मक द्वन्द्वलाई कथावस्तु बनाइएको फिल्ममा सुहाना थापा, सौगात मल्लप्रकाश सपुत मुख्य भूमिकामा छन्। पोस्टर सार्वजनिक भएपछि यी तीन कलाकारलाई एउटै पर्दामा हेर्न दर्शक उत्साहित देखिएका छन्। फिल्ममा सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने तथा बाल कलाकार मन्जिला बाँनियालगायतको पनि अभिनय रहेको छ।

हरि ॐ सिने मेकर्स प्रा.लि.को निर्माणमा बनेको फिल्मका निर्माता सुशील पोखरेल हुन् भने लेखन सुशील देवकोटाले गरेका छन्। छायांकन संकल्प भुजेलले गरेका हुन्। नृत्य निर्देशन रामजी लामिछाने, सम्पादन मिलन श्रेष्ठ र रंग संयोजन कनाल कँवरले सम्हालेका छन्। भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन् भने टिजर–ट्रेलर सम्पादन साहिल खानले गरेका छन्। ५.१ मिक्सिङ मुकेश शाहले गरेका छन् र निर्माण संयोजन नगेन्द्र घिमिरेको रहेको छ।

फिल्मको वितरण आर फिल्मसले गर्नेछ भने ओएसआर डिजिटलले डिजिटल अधिकार लिइसकेको छ। साहित्यकार गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश ‘परालको आगो’ कथामा आधारित यस फिल्मलाई यसअघि ४५ वर्षअघि प्रताप सुब्बाले पनि निर्देशन गरेका थिए।

फिल्ममा पाश्र्व संगीत किरण तुलाधरको रहेको छ भने संगीतमा शान्ती ठटाल, सत्य–स्वरुप र प्रकाश सपुतको योगदान छ। गीतमा मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतका शब्द समावेश छन्। कला निर्देशन प्रतिक चौधरीले गरेका छन् भने मुख्य सहायक निर्देशक करण बहादुर साउद हुन्। सह–निर्मातामा सुलभी पोखरेल र सत्यम पोखरेल रहेका छन्।