अवार्ड वितरणसहित जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न


ब्युटी न्युज नेपाल
जनकपुरधाम, १२ फागुन

“स्टोरिज बियोन्ड बोर्डर्सः ह्वेयर कल्चर मिट्स सिनेमा” भन्ने नारासहित आयोजित दोस्रो जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अवार्ड वितरणसहित सम्पन्न भएको छ। फागुन ८ गतेदेखि सुरु भएको चारदिने महोत्सव फागुन ११ गते समापन गरिएको हो। संवाद फाउन्डेसन द्वारा आयोजित महोत्सवमा ६५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शन गरिएका थिए।

समापन समारोहमा विभिन्न विधामा उत्कृष्ट ठहरिएका चलचित्रलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। अन्तर्राष्ट्रिय प्यानोरामा अन्तर्गत डेभिड कासाल्स–रोमा को “कप्स” उत्कृष्ट लघु कथानक चलचित्र घोषित भयो भने शेख अल मामुन निर्देशित “ड्रेन्ड बाई ड्रिम्स” उत्कृष्ट फिचर कथानक चलचित्र बन्न सफल भयो।

त्यसैगरी रोस्ताम नजरि को “साइद क्यापिलो” उत्कृष्ट लघु वृत्तचित्र घोषित हुँदा रिंकु शर्मा निर्देशित “हमार रामलिला” उत्कृष्ट फिचर वृत्तचित्र ठहरियो। एनिमेसन विधातर्फ बार्तोज जार्जिकी को “फियररस्टार्च” उत्कृष्ट घोषित गरिएको छ।

विद्यार्थी प्यानोरामा “चोइसेस अफ टुमोरो” अन्तर्गत काथ्रिन एलिस कोभालेन्को को “बिल्ट अन होप” उत्कृष्ट वृत्तचित्र र डानिलो स्तानिमिरोभिच को “क्याट्स” उत्कृष्ट कथानक चलचित्र घोषित भए। क्षेत्रीय प्यानोरामामा विप्लव विश्वासको “सकार बकार (रिभर रेड)” उत्कृष्ट लघु चलचित्र बनेको छ।

नेपाली प्यानोरामा अन्तर्गत निर्मल पौडेलको “निलो आकाश” उत्कृष्ट लघु कथानक चलचित्र र श्रीजन राज पाण्डेको “मित्क्पा” उत्कृष्ट वृत्तचित्र घोषित गरिएको छ।

महोत्सवका संयोजक तथा संवाद फाउन्डेसनका अध्यक्ष कुमार भास्करले जनकपुरको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए। उनका अनुसार यस्तो कार्यक्रमले जनकपुरलाई सांस्कृतिक सहरका रूपमा विश्वमञ्चमा चिनाउन महत्वपूर्ण योगदान पु¥याएको छ।

भास्करले स्वदेशी तथा विदेशी चलचित्रकर्मीहरूलाई जनकपुरमा छायांकन गर्न आमन्त्रण गर्दै यहाँको मौलिक संस्कृति र धार्मिक महत्वलाई विश्व बजारमा प्रवद्र्धन गर्न आग्रह गरे। साथै, उनले संघ, प्रदेश र स्थानीय तहका सरकारलाई चलचित्र पर्यटन विकासका लागि आवश्यक पूर्वाधार र लगानीमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।