ब्युटी न्युज नेपाल
काठमाडौँ, २ फागुन
गत फागुन १ गते प्रणय दिवस तथा महाशिवरात्रिको अवसर पारेर प्रदर्शनमा आएको चलचित्र ‘श्री बुकुरो’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। नेपालभर सञ्चालनमा रहेका हलहरूको क्षमताभन्दा धेरै फिल्म एकसाथ प्रदर्शनमा आएका कारण निर्माण टिमले अपेक्षा गरेअनुसार शो नपाए पनि उपलब्ध शोहरूमा दर्शकको सन्तोषजनक अकुपेन्सी देखिएको छ।
चलचित्र विशुद्ध पारिवारिक कथामा आधारित रहेकाले हेरेका अधिकांश दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन्। दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले आफूलाई थप ऊर्जा दिएको निर्देशक सुदीप भुपाल सिंह ले बताएका छन्।
यसै अवसरमा, भ्यालेन्टाइन डे (फागुन २ गते) पारेर चलचित्रको नयाँ गीत ‘मायालुको मुस्कान’ सार्वजनिक गरिएको छ। उक्त गीतमा चलचित्रका मुख्य बाल कलाकारहरू टिनएज अवस्थामा प्रवेश गरेपछि विकसित हुने प्रेम सम्बन्धलाई रोमान्टिक ढंगले प्रस्तुत गरिएको छ। गीतमा विक्रम कार्की को संगीत तथा एरेञ्ज, निर्देशक सुदीपको शब्द रचना र सन्देश पौडेल को स्वर रहेको छ। दर्शकलाई भ्यालेन्टाइन डे उपहारस्वरूप गीत सार्वजनिक गरिएको निर्माण टिमले जनाएको छ।
फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको यस चलचित्रकी निर्मात्री रुबी सेन सिंह हुन्। चलचित्रमा आशीर्वाद क्षेत्री, निकिता आचार्य, लक्ष्मी गिरी, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा र सपना श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहेको छ।
पारिवारिक सम्बन्धमा आधारित यस चलचित्रमा सञ्जय लामा र राजेश श्रेष्ठ को छायांकन, विक्रम कार्कीको ब्याकग्राउन्ड स्कोर, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर ग्रेडिङ, सुरज तामाङ र प्रवीण सिंह को कोरियोग्राफी तथा बनिष शाह, चन्दन दत्त र परिच्छेद सेन को सम्पादन रहेको छ। चलचित्रका गीतमा वसन्त सापकोटा र रञ्जीत गजमेर ले संगीत दिएका छन्।



