द ब्लू लाइट’को नयाँ गीत सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ माघ

चलचित्र‘द ब्लू लाइट’ले बुकिङ खुलासँगै नयाँ गीत सार्वजनिक गरिएको छ । ‘दुई अक्षरको माया…’ गीतको भिडियो निर्माण पक्षले बिहीबार सार्वजनिक गरेको हो ।

यो माधुर्य गीतमा प्रवेश राईको स्वर, डीपी खनालको शब्द र एसडी योगीको संगीत रहेको छ । गीतमा प्रेम र सम्बन्धको कथा छ । दुई अक्षरको शब्द ‘माया’लाई बुझ्न कति कठिन छ भन्ने गीतमा उल्लेख छ । प्रेम र विश्वास तथा त्यसमा हुने घातलाई सुन्न सकिन्छ ।

गीतको भिडियोमा चलचित्रमा दुई मुख्य कलाकार अपर्ण थापा र बेनिशा हमालको अभिनय छ । उनीहरूबीचको प्रेम र सम्बन्धलाई गीतले देखाउने प्रयास गरेको छ ।

यो चलचित्र भोली शुक्रबारबाट रिलिज हुँदैछ । शुक्रबारबाटै पल शाहको चलचित्र आ बाट आमा पनि रिलिज हुने भएका कारण दुई चलचित्र जुधेको छ । त्यसैले यो चलचित्रले देशभर करिब १३० सो पाएको निर्माण पक्षले जनाएको छ ।

‘द ब्लू लाइट’मा बेनिशा र अर्पणसँगै श्रृष्टि श्रेष्ठ, आयुशमान देशराज जोशी, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् । चलचित्र ‘द ब्लू लाइट’लाई बलिराम चौहानले निर्देशन गरेका छन् । यो चलचित्रको कार्यकारी निर्मातामा बेनिशा हमाल छिन् ।