ब्युटी न्युज नेपाल
काठमाडौँ, २१ जेठ
नायक आशिफ शाहले शिर्ष भूमिका निर्वाह गरेको नयाँ चलचित्र ‘जन्ते बाख्रो’ यही शुक्रबारबाट रिलिज हुँदैछ । आशिफ जन्ते बाख्रो मार्फत दर्शकसामु आउन लागेका हुन् । नायकसँगै म्युजिक भिडियो निर्देशकको रुपमा परिचय बनाएका आशिफले ‘जन्ते बाख्रो’ आफ्नो स्वभावसँग मिल्दोजुल्दो भएकाले अफर भएको बताए ।
त्यसो त मिडियामा चर्चामै रहिरहने आशिफले सिनेमा भने निकै कम गरेका छन् । ‘मिसन पैसा’मा सानो भूमिकामा देखिएका आशिफले ‘लभ सासा’ र ‘दुई रुपैयाँ’मा ख्य अभिनेताको रुपमा काम गरेका छन् । उनले ‘कर्कश’ नामक सिनेमाको निर्देशन पनि गरेका थिए ।
‘सिनेमालाई सिमोस सुनुवारले निर्देशन गर्दै हुनहुन्छ र बन्दै छ भन्ने मैले थाहाँ पाएको थिएँ । किनकि हाम्रो सर्कल लगभ एउटै छ । निर्देशकले मेरो पात्रको बारेमा सुनाउँदै यो कसलाई सुहाउँला भनेर एक जना मेकअप आर्टिस्टलाई सोध्नु भएछ । उहाँले आशिफ दाईलाई सुहाउला भनेपछि निर्देशकले ढुक्क भएर मलाई अफर गर्नुभएको रहेछ,’ आशिफले भने ।
निर्देशक सिमोसले पनि उक्त पात्रमा आशिफलाई देखेका रहेछन् । तर, आफ्नो सोचाई अरुसँग मिल्छ की मिल्दैन भनेर जाँच गरेको बताए । उनले भने,’हाम्रो साथीभाई र काम गर्ने साथीभाई उस्तै उस्तै छन् । त्यसैले मैले आशिफलाई अफर गर्नु अगाडि अरुबार कन्फर्म गरेको थिएँ । मैले काठमाडौँ बाहिर हुँदा नै फोनमार्फत क्यारेक्टरको बारेमा जानकारी दिएर फिल्म गर्नुपर्छ भनेको थिएँ ।’
सिनेमा अफर भएपछि आशिफले उत्साहित भएको स्मरण गरे । विशेषत सिनेमामा सौगात मल्ल छन् भन्ने कुराले उनलाई उत्साहित बनाएको थियो । उनी टेलिभिजन भन्दा बाहिर सिनेमामा आफ्नो कमाल देखाउन चाहन्थे । सार्वजनिक सिनेमाको गीत र ट्रेलरमार्फत उनले राम्रो प्रतिक्रिया पाएका छन् । उनको क्यारेक्टरको स्वभाव आफूसँग मिल्ने महसुस गरेका छन् ।
‘म सबैसँग सहज रुपमा खुल्न सक्दिन्, तर एउटा साथी सर्कल छ, जहाँ म खुल्न सक्छु । त्यहि सर्कलमा निर्देशक सिमोश हुनहुन्छ । उहाँले त्यसकारण पनि मलाई ‘जन्ते बाख्रो’ को भूमिका अफर गरेको हुनसक्छ । यो मेरो एउटा फरक रुप दर्शकसम्म आउँदैछ,’ आशिफले भने ।
उनले सिनेमाको ट्रेलरमा बोकेर हिड्ने डोरी, सिनेमामा देखिने बाख्रो पनि कथासँग जोडिएको छ । टेलिभिजन र म्युजिक भिडियोमा लामो समय काम गरिसकेका आशिफ अब सिनेमामा आफूलाई भिन्न भिन्न तरिकाले प्रस्तुत गर्न चाहन्छन् । यसपटक सौगातसँग काम गर्दा उनले अभिनयका नयाँ आयामसँग परिचित हुने मौका पाएँ ।
‘मेरो पात्रको भावनालाई बाहिर ल्याउन पनि सौगातले मदत गरेका छन् । उनले सिकाएको शैलीले हामीलाई पात्रलाई जीवन्त बनाउन मदत गरेको छ । यो सिनेमाको काम गराई मेरा लागि अभिनय शिक्षा जस्तो पनि भयो । म सौगातबाट अभिनयमा शिक्षित भएको महसूस गरेको छु । उनको प्रभाव मेरो आगामी काममा देखिन्छ,’ उनले भने ।
उनी सिनेमाको सफलताको श्रेय सबैले पाउने भएकाले ढुक्क छन् । सिनेमालाई दर्शकले रुचाउँदा आफ्नो पात्र पनि रोजाईमा पर्ने आशिफ बताउँछन् । सिनेमाको शिर्षकले नै नेपाली परम्परालाई व्यक्त गर्ने भएकाले ‘जन्ते बाख्रो’ मार्फत नयाँ पुस्ता जिज्ञाशु हुने विश्वास निर्देशक सिमोशले व्यक्त गरे ।
‘हामीले शिर्षक ‘जन्ते बाख्रो’ राखेपछि यो विषयमा नयाँ पुस्ताले सोधखोज गरेको पाएका छौँ । सिनेमा हेर्नु हुन्छ वा हेर्नु हुन्न् त्यो अहिले भन्न सकिन्न तर हाम्रो एउटा परम्पराका बारेमा अवगत हुनुहुन्छ भन्ने लागेको छ । हाम्रो एउटा आशय नै नयाँ पुस्तालाई संस्कृति र परम्परालाई बुझाउँदै मनोरञ्जन दिनु हो’, निर्देशक सिमोशले भने ।
सिनेमामा आशिफसँगै सौगात मल्ल, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारको अभिनय रहेको छ ।
अहिले गाउँघरबाट हराउँदै गएको भुइँमा लहरै बसेका जन्तीलाई टपरी र दुनामा भोज खुवाउने परम्परा, ग्रामीण क्षेत्रको मौलिक चालचलनलाई समेटेर तयार गरिएको ‘जन्ते बाख्रो’ मा परम्परालाई रमाइलो ढङ्गले प्रस्तुत गरेकाले नयाँ पुस्ताका लागि मनोरञ्जनसहित जानकारी प्राप्त हुनेमा निर्माण पक्ष विश्वस्त छ ।
सिनेमालाई सन्तोष गौतमले निर्माण गरेका हुन् । सिनेमाको सार्वजनिक गरिएका गीतहरू ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ लाई दर्शकले रुचाइसकेका छन् । सिनेमाको सार्वजनिक ट्रेलरमा दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
मुईन इन्टरटेनमेन्टद्वारा निर्मित ‘जन्ते बाख्रो’को कथा प्रदीप भारद्वाजले लेखेका हुन् । सिनेमामा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन, र सुनिल शिवभक्तिको सम्पादन रहेको छ । टिफल्क फिल्म्सले वितरण गर्ने यो सिनेमाको डिजिटल अधिकार जी टु वान डिजिटलले प्राप्त गरेको छ । निर्माण पक्षका अनुसार, फिल्म जेठ २३ गतेदेखि नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आउनेछ ।