पारसले ल्याए माटो र मुटका गीतहरु


व्युटी न्युज नेपाल
काठमाडौं, १८ साउन

युवा पुस्तामा राष्ट्रिय भावनाले ओतप्रोत गीत गायनको क्रम बढ्दो छ । यसै क्रममा सञ्चारकर्मी एवं गायक पारस नेपालले यसपटक राष्ट्रिय भावनाले ओतप्रोत गीतको संग्रह ‘धरोहर’ स्रोतामाझ ल्याएका छन् । मुटु र माटोको गीतहरुको सँग्रह भनिएको धरोहरलाई राजधानीमा एक समारोहबीच बरिष्ठ गायक प्रेमध्वज प्रधान र प्रा. डा. अभि सुवेदीले संयुक्त रूपमा विमोचन गरेका छन् ।

सँग्रहमा ५ ओटा गीत रहेका छन् । यी सबै राष्ट्रिय भावनाले ओतप्रोत गीतहरुमा पारसको एकल स्वर छ । एउटा गीतमा केही कलाकारले उनलाई साथ दिएका छन् । सबै गीतमा जुगल डंगोलले संगीत दिएका छन् । यी गीतहरु राष्ट्रकवि माधवप्रसाद घिमिरे, क्षेत्रप्रताव अधिकारी, दिनेश अधिकारी, फुलमान बल, अमन मास्केले लेखेका हुन् ।

भिडियाेमा बिमाेचन समाराेह

अग्रज स्रष्टा डा. अभि सुवेदीले सँग्रहमा रहेको गीतको समीक्षा गर्दै राष्ट्रिय भावनाका पारसका गीतले आफुलाई धेरै समयपछि आनन्दित तुल्याउँदै उर्जा दिएको बताए । चर्चित कविहरुको सशक्त शब्दलाई संगीतकार र गायकले न्याय दिएको पनि उनको भनाई थियो । डा. सुवेदीले गायक पारसलाई मुक्त भएर खुला रुपमा गीत गाउन पनि सल्लाह दिए ।

सो कार्यक्रममा बोल्दै अग्रज गायक प्रधानले आफूहरुको पुस्तालाई प्रतिनिधित्व गर्ने राष्ट्रिय भावनाले ओतप्रोत गीतहरु पारसले दिन सफल भएको भन्दै खुसी व्यक्त गरे । पारसका गीतहरु निकै ओजस्वी र कर्णप्रिय भएको बताउँदै उनको स्वर आफ्नै प्रकारको भएको पनि गायक प्रधानले जानकारी गराए । प्रधानले पनि गायक पारसलाई खुलेर गीत गाउँदा अझ राम्रो हुने सुझाब दिए ।

राष्ट्रकवि लगायत अग्रज कविहरुको गीतमा संगीत गर्न पाउँदा साह्रै खुसी लागेको बताउँदै संगीतकार जुगल डंगोलले आफ्नो अहिलेसम्मकै सँग्रहनीय सँग्रह धरोहर बनेको जानकारी गराए ।

कार्यक्रममा बोल्दै गायक पारस नेपालले यस अघि कालापानी नालापानी…गीत ल्याएको र सो गीतपछि अग्रज र साथीहरुको प्रेरणाले यो सँग्रह ल्याउन सफल भएको हुँ भने । पाँच वर्ष लगाएर राष्ट्रिय भावनाले ओतप्रोत मुटु र माटोको गीत ल्याएको स्मरण सुनाउँदै राष्ट्रका लागि केही गर्ने यो एउटा सानो सांगीतिक जमर्को भएको पनि उनले बताए ।

बिमोचन समारोहमो यो सँग्रहको राष्ट्रकविको शब्द रहेको कस्तो हुन्थ्यो कस्तो हुन्थ्यो…गीतको भिडियो सार्वजनिक गरियो । डब्बु क्षत्रीले निर्देशन गरेको यो भिडियोमा वीरेन्द्र हमाल, राजेश श्रेष्ठ र सविना कार्कीको अभिनय छ । सूर्य महर्जनले खिचेको भिडियोलाई अशोक मल्लले सम्पादन गरेका हुन् ।