प्रकाश सपुतको गीति भिडियोले भावुक बनायो मन्त्री विष्टलाई


व्युटी न्युज नेपाल
काठमाडौं, ४ जेठ

गायक संगीतकार तथा गीतकार प्रकाश सपुतको एउटा गीति भिडियो हेरेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आँखामा आँसु थाम्न सकेनन् ।

समृद्ध जीवनको सुन्दर सपना सजाएर विदेशिने तर फर्किदा काठको बाकसमा बन्द भएर फर्किने यथार्थमाथि बनेको गीत बोल माया…को म्युजिक भिडियो प्रिमियरमा मन्त्री बिष्टको आँखा रसाएको हो ।

होटेल हिमाललय, ललितपुरमा आयोजित एक कार्यक्रममा सो गीतको बिमोचन पछि भिडियो हेर्दा मन्त्री बिष्ट सहित सबै अतिथि रोएका थिए । मन्त्री बिष्टले आफू बढी भावुक व्यक्ति भएकाले गीतले आफूलाई निदाउन नदिने बताउँदै भने, ‘मलाई यस्ता कुराले गहिरो प्रभाव पार्छन् । यो गीतको म्युजिक भिडियो हेर्दै गर्दा म असाध्यै भावुक बनें र मलाई यसले निदाउन दिनेछैन ।’

श्रम रोजगार मन्त्रीका रुपमा आफूले बिदेशबाट बाक्सामा नेपालीको लास आउन नदिन विभिन्न भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दै उनले भने, ‘गीतमा समेटिएको यथार्थ मैले देखेको छु । यही दुःखद् दिन दूर गर्न हामी अहिले लागिपरेका छौं ।’
बोल माया…को म्युजिक भिडियो

प्रकाश सपुतको लेखन, संगीत, रचना र म्युजिक भिडियो निर्देशन समेत रहेको गीतबाट चर्चित लोक गायक तथा फिल्म निर्देशक नारायण रायमाझी लामो समयपछि गायनमा फर्किएका छन् । नेपाली जनजीवनको यथार्थ कथालाई गीतबाट मार्मिक ढंगले प्रस्तुत गरिएकाले आफू गाउन तयार भएको गायक रायमाझीले बताए ।

रायमाझीका साथै गीतमा प्रकाश सपुतको स्वर समेटिएको छ । युवा उमेरमै विधवा भएकी महिलाको विलौनालाई शान्तिश्री परियारले निकै बिहर रुपमा गाएकी छिन् । गायनमा नयाँ प्रयोग छ ।

गीत रचना बारे गायक सपुतले बोल्दै गर्दा धेरैले आँशु थाम्न सकेनन् । आफ्नै आफन्तले भोगेका पीडाहरुलाई गीतमा उतारेको रहस्य उनले कार्यक्रममा खोल्दै भने,‘एक जवान युवाको सपना बाकसमा बन्द भएर फर्किएको, एक महिला उमेरमै विधवा भएको र साना नानीहरु टुहुरा भएको दुःख मैले नजिकबाट महशुस गरेको छु । त्यही दुःखलाई मैले गीतमा उतार्ने प्रयास गरेको हुँ ।’

कार्यक्रममा गीतको म्युजिक भिडियोमा गरेको जीवन्त अभिनयका लागि मोडल अञ्जली अधिकारीको तारिफ गरिएको थियो । पृथ्वी इन्टरटेन्मेन्टले निर्माण गरेको म्युजिक भिडियो प्रिमियरमा चर्चित गायकहरु प्रजापति पराजुली, बद्री पंगेनी, पशुपति शर्मालगायतका कलाकारको समेत उपस्थिति थियो ।